विषादीयुक्त फलफूल तथा तरकारीको बिक्री नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभा सदस्यहरूले हानिकारक विषादीको प्रयोग भएका फलफूल तथा तरकारीको बिक्रीवितरण नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

काठमाडौँ– राष्ट्रियसभा सदस्यहरूले हानिकारक विषादीको प्रयोग भएका फलफूल तथा तरकारी बिक्रीवितरणमा नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

सभाको शुक्रबारको बैठकको शून्य समयमा सांसद इन्दिरादेवी गौतमले बजारमा बिक्रीवितरण भइरहेका फलफूल तथा तरकारीको कडाइका साथ गुणस्तर परीक्षण गर्न माग गरिन्।

“फलफूल तथा तरकारीमा अत्यधिक विषादीको प्रयोग हुने गरेको र समयअगावै विषादीयुक्त तरकारी बजारमा बिक्रीवितरण गरेको समाचार बारम्बार सुनिरहेका छौँ,” उनले भनिन्, “फलफूल पनि पाक्ने समयअगाडि पकाउने औषधिको प्रयोग गरी बजारमा ल्याइएको छ। गुणस्तर परीक्षण गरी आमनागरिकले उपभोग गर्ने वातावरण बनाउनुपर्छ।”

सांसद गंगाकुमारी बेल्वासेले पतञ्जलि जग्गा हिनामिना प्रकरणबारे चर्चा गर्दै विदेशी कम्पनीलाई आवश्यक कागजपत्रबीना दर्ता गरिएको टिप्पणी गरिन्। “अहिले कानून संशोधन गरेर जग्गा कम्पनीलाई दिने र बेच्ने भन्ने छ, त्यो बेठीक छ,” उनले भनिन्।

सांसद गोपाल भट्टराईले असारदेखि असोजसम्म डेंगी रोग प्रकोपका रूपमा फैलिन सक्नेतर्फ सतर्कता अपनाउनुपर्नेमा जोड दिए। उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक प्रस्तुत गर्दै यसको नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

सांसद गोपीबहादुर सार्की आछामीले बिपी राजमार्गको भकुण्डेबेँसी–नेपालथोक सडक समयमै पुनर्निर्माण गर्न सभाध्यक्षमार्फत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए। सांसद जगप्रसाद शर्माले किसान पेन्सनको व्यवस्था गर्न माग गर्दै कृषकलाई मल र बीउ समयमा व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराए। 

शून्य समयमा सांसद मायाप्रसाद शर्माले जाजरकोट जिल्लामा मानसिक असन्तुलनका कारण बढ्दो मृत्युदरको तथ्यांक प्रस्तुत गर्दै त्यहाँ मानसिक अस्पताल निर्माणको आवश्यकता औँल्याए। 

बैठकमा सांसदले उद्धार अभ्यास गर्ने क्रममा सप्तकोशी नदीमा डुबेर बेपत्ता दुई सशस्त्र प्रहरीमा एकको मृत्युप्रति श्रद्धाञ्जली अर्पण गर्दै अझै बेपत्ता एकको खोजीलाई तीव्रता दिन माग गरेका थिए। 

त्यसअघि सभाको आकस्मिक समयमा नेकपा माओवादी केन्द्रका सांसद विष्णुबहादुर विश्वकर्माले भिजिट भिसामा निष्पक्ष अनुसन्धानको बाटो खुलाउनुपर्नेमा जोड दिएका थिए।