हार्वर्डमा विदेशी विद्यार्थी प्रतिबन्ध गर्ने ट्रम्पको निर्णयमा अदालतको अस्थायी रोक

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासलाई अदालतले अस्थायी रूपमा रोक लगाएको छ।

हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थीको भर्ना रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासलाई अदालतले अस्थायी रूपमा रोक लगाएको छ। यो घटनाले ट्रम्प र विश्वकै प्रतिष्ठित विश्वविद्यालयमध्ये एक हार्वर्डबीचको तनावलाई थप बढाएको छ।

ह्वाइट हाउसले बुधबार राति घोषणा गरेको एक आदेशमार्फत ट्रम्प प्रशासनले नयाँ विदेशी विद्यार्थीलाई अमेरिका प्रवेश गर्नबाट बन्देज लगाउनुका साथै हाल भर्ना भएका विद्यार्थीको भिसा खारेज हुने जोखिम रहेको बताएको थियो। “हार्वर्डको गतिविधिका कारण विदेशी विद्यार्थी र शोधकर्ताका लागि यो अनुपयुक्त गन्तव्य बनाएको छ,” आदेशमा भनिएको थियो।

हार्वर्ड विश्वविद्यालयले यस निर्णयको तुरुन्तै विरोध गर्दै संघीय अदालतमा मुद्दा दायर गर्‍यो। हार्वर्डले यो कदम आफ्नो प्रशासन, पाठ्यक्रम र शिक्षक तथा विद्यार्थीको विचारधारा नियन्त्रण गर्ने सरकारी प्रयासको प्रतिरोध गरेका कारण सरकारले लिएको प्रतिशोधका रूपमा व्याख्या गरेको छ।

अमेरिकी जिल्ला न्यायाधीश एलिसन बरोजले बिहीबार ट्रम्प प्रशासनलाई हार्वर्डमा विदेशी विद्यार्थी भर्ना रोक्ने घोषणा कार्यान्वयन गर्नबाट रोक्दै हार्वर्डको पक्षमा फैसला सुनाइन्। न्यायाधीश बरोजले यस्तो अस्थायी रोक नलाएमा सुनुवाइअघि नै अपूरणीय क्षति पुग्न सक्ने हार्वर्डको तर्कलाई स्वीकार गरिन्। यसअघि पनि बरोजले ट्रम्पको यस्तै प्रयासलाई विफल पारेकी थिइन्।

सरकारले यसअघि नै हार्वर्ड विश्वविद्यालयलाई प्रदान गरिने करिब तीन अर्ब २० करोड डलर बराबरको संघीय अनुदान कटौती गरिसकेको छ भने क्याम्ब्रिज र म्यासाचुसेट्सलगायतका संस्थालाई भविष्यमा पनि कुनै संघीय कोष उपलब्ध नगराउने बताएको छ। हार्वर्डका अनुसार ट्रम्प प्रशासनको पाठ्यक्रम, कर्मचारी, विद्यार्थी भर्ना र ‘दृष्टिकोण विविधता’को निरीक्षण गर्ने मागलाई अस्वीकार गरेपछि यो कदम चालिएको हो।

हार्वर्डले आफ्नो निवेदनमा राष्ट्रिय हितमा भए राष्ट्रपतिसँग विदेशीहरूको कुनै पनि वर्गलाई रोक्ने अधिकार हुने स्वीकार गरेको छ, तर अहिलेको अवस्थामा त्यस्तो कुनै कारण नदेखिएको जिकिर गरेको छ। “राष्ट्रपतिको कदम ‘संयुक्त राज्य अमेरिकाको हित’को रक्षा गर्न होइन, हार्वर्डविरुद्ध सरकारी प्रतिशोधको खोजी गर्नका लागि अगाडि बढाइएको हो,” हार्वर्डले भनेको छ।

पुनः राष्ट्रपति कार्यालयमा फर्किएपछि ट्रम्पले अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयलाई निशाना बनाएका छन्। उनी र उनका समर्थकले यी विश्वविद्यालयलाई यहुदीविरोधी, उदारवादी पूर्वाग्रह र ‘जागृत’ विचारधाराको केन्द्र भएको आरोप लगाउँदै आएका छन्।

यसै क्रममा ट्रम्पका शिक्षामन्त्रीले कोलम्बिया विश्वविद्यालयको मान्यता खारेज गर्ने धम्की दिएका छन्। ट्रम्पले न्यूयोर्कको आईभी लिग संस्थालाई यहुदी विद्यार्थीको उत्पीडनलाई बेवास्ता गरेको आरोप लगाउँदै संघीय कोष रोक्का गर्ने चेतावनी दिएका छन्। 

हार्वर्डले भने ट्रम्प प्रशासनको मागको प्रतिरोध गर्दै आएको छ, जबकि कोलम्बियालगायत अन्य धेरै विश्वविद्यालय प्रशासनको दबाबमा लचक भएका छन्। हार्वर्डमा सन् २०२४–२०२५ को शैक्षिक वर्षमा कुल भर्नाको २७ प्रतिशत विदेशी विद्यार्थी रहेका छन्, जो विश्वविद्यालयको आम्दानीको मुख्य स्रोत हुन्।