बाजुराको बाम्का बजारमा सिलिन्डर फड्किएर आगलागी

बाजुराको बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा १२ भन्दा बढी पसल जलेको प्रहरीले जनाएको छ।

बाजुरा– बुढीगंगा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ। 

बजारमा सञ्चालित एक होटलमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किएर आगी अन्य पसलमा फैलिएको हो।

आगलागीबाट १२ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देव चौधरीले जानकारी दिए। 

आगलागीका कारण लाखौँको क्षति भएको अनुमान गरिएको उनले बताए। 

हावाहुरीका कारण आगो नियन्त्रणबाहिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुरक्षाकर्मी, स्थानीयले अहिले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्।

आगलागीका कारण इन्टरनेट र विद्युत् सेवा पनि अवरुद्ध भएको छ।