‘भूमि’ पात्रको भूमिका निर्वाह गर्दा पवित्रा खड्काले नागरिक र अनागरिकबीचको भिन्नतालाई गहिरो रूपमा महसुस गरिन्। यो भूमिकाले उनलाई आफ्नै कतिपय पूर्वाग्रहहरूलाई हटाउन समेत सहयोग गर्यो।
“मलाई कस्तो भूमिका गर्न मन छ भन्दा पनि कस्तो भूमिका गर्न मन छैन, त्यसबारे भन्छु है?,” नाटक लस्ट एन्ड फाउन्डकी ‘लाउड एन्ड बोल्ड’ पात्र भूमि (पवित्रा खड्का)ले पहिला अनुमति मागिन्, अनि महिला पात्रलाई चित्रण गर्ने स्थापित तरिकाप्रति असन्तुष्टि व्यक्त गरिन्।
“मलाई महिला पात्रलाई गाउँले भेषमा उभ्याउँदा थोत्रो कपडा लगाएको, रुन्चे, छुच्ची अनि झगडालु महिलाको रूपमा प्रस्तुत गर्न मन छैन,” पवित्राले प्रष्ट पारिन्, “महिलालाई महिलाको शत्रु देखाउने पात्रमा काम गर्न पनि मेरो रुचि छैन। हुन त, कलाकारले कथाको मागअनुरूप कुनै पनि पात्र गर्दिन भन्न मिल्दैन तर व्यक्तिगत रूपमा भन्नुपर्दा यस्ता भूमिकामा काम गर्न मन लाग्दैन।”
उनको भनाइमा नेपाली रंगमञ्चमा महिला कलाकारले निभाउने कतिपय एकरूपी भूमिका र त्यसप्रतिको वितृष्णा प्रकट हुन्छ। रंगमञ्चमा एक दशकभन्दा बढी समय व्यतीत गरेकी पवित्रा बदलिँदो समयसँगै नाटकमार्फत प्रस्तुत हुने पात्रको भौतिकदेखि बौद्धिक चित्रणसँगै रंगमञ्च पनि परिष्कृत हुनुपर्ने तर्क गर्छिन्।
उदाहरणका लागि, ३० वर्षअघिको गाउँले परिवेश, गुन्यू चोली पहिरन अझै पनि नाटकमा देखिन्छ। जबकि, अधिकांश नाटकको सेटिङ ३० वर्षको अघिको हुँदैन। समय र स्थानको हेक्का हुनुपर्छ। त्यसमाथि पनि अहिलेको औसत ग्रामीण परिवेश शहरसरह भइसकेको उनी बताउँछिन्।
पवित्राका अनुसार गाउँ, समाजको परिवेश शहरीशैलीमा फेरिएको छ। परिवर्तन नभएको एउटा पाटो हो, समग्र समाजको चेतनास्तर। चेतनास्तर फराकिलो हुन समय लाग्ने उनको बुझाइ छ।

रंगमञ्चले नै आफूलाई यिनै सामाजिक असमानता र विभेदबारे गहिरोसँग बुझ्न र आफूभित्रका पूर्वाग्रह हटाउन सिकाएको उनी स्वीकार गर्छिन्। “रंगमञ्चले मलाई समाजबारे बुझ्न सहयोग गरेको छ,” उनी भन्छन्।
भूमिहीन भूमिका प्रश्नैप्रश्न
शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘लस्ट एन्ड फाउन्ड’ले उठाएको एउटा गम्भीर विषय हो, अनागरिक अर्थात् राज्यविहीन हुनु। आफू जन्मेको भूमिमा भूमिहीन र पहिचानविहीन हुँदाको पीडा कस्तो होला? ती व्यक्तिको दैनिकी कति प्रताडित होला? ती व्यक्तिमा कस्तो व्यक्तित्व विकास होला? नाटकमा ‘भूमि’ पात्रमार्फत यिनै विषयको उठान गरिएको छ। भूमिको प्रताडना अनागरिक हुनुमा मात्र सीमित छैन, यो ‘अनागरिक महिला’ हुनुसँग झनै गहिरोसँग जोडिएको छ।
हुन पनि, एउटा पुरुष अनागरिक हुँदा समाजले सहानुभूति देखाउँछ, उसको कथा समाचार बन्छ, तर महिला अनागरिक बनेको सवाललाई समाजले कति हेक्का राखेको छ?
भूमिलाई राज्यले नागरिकता नदिनुको एउटै कारण हो, उनको बुबाको परिचय गुमनाम हुनु। जीवित आमा हुँदाहुँदै पनि उनको पहिचान आमाबाट नजोडिनु उनको आक्रोशको मुख्य कारण हो। यही कारण उनले न जागिर पाएकी छन्, न विदेश जान सकेकी छन्, न त बैंक खाता खोल्न नै। राज्यको यस प्रकारका बेबासिरेसपनमाथि उनको प्रश्न छ।
पवित्रा र पात्र भूमिको जीवनमा केही समानता छन्। पवित्रा आमाको गर्भमा हुँदै बुबा बितेका थिए। उनलाई एकल आमाले हुर्काइन् र सबल बनाइन्। नागरिकताका लागि भने पवित्राले खासै अवरोध भोग्नुपरेन।
पहिले उनलाई नागरिकता केबल एउटा कागज पत्र जस्तो लाग्थ्यो। तर जब उनले भूमिजस्ता अनागरिक महिलाका दुःख बुझिन्, तब उनलाई आफ्नो जीवन कति सहुलियतपूर्ण रहेछ भन्ने महसुस भयो।

समाजमा व्याप्त पितृसत्तात्मक सोचबारे उनी भन्छिन्, “महिलाको परिचय पिता, पति वा पुत्रसँग यसरी जोडिएको छ कि महिला अनागरिक हुने हैसियत नै राख्दैनन्।”
केटीमान्छेलाई नागरिकता किन चाहियो? बिहे गरेर गृहस्थी गरे भइहाल्छ नि भन्ने तर्क अझै पनि हाम्रो समाजमा विद्यमान रहेको उनको बुझाइ छ। “सायद यही कारण महिलाको अनागरिक बनेको सवाल ओझेलमा परेको हो कि,” उनी प्रश्न गर्छिन्।
तथापि, यो प्रश्नको शृंखला यतिमै रोकिँदैन। शुरूमा नाटकको स्क्रिप्ट हात पर्दा पवित्रा आफैँ पात्र ‘भूमि’प्रति विश्वस्त थिइनन्। उनी आफूलाई ‘जजमेन्टल’ स्वभावको बताउँछिन्। नाटक हात पर्दा भूमिलाई अनेक तरिकाले हेर्न खोजिन्।
भूमिले यस्तो गर्लिन् र! यस्तो भन्लिन् र! भन्ने उनलाई लाग्थ्यो। भूमिले भर्खरै भेटेको मानिसलाई आफ्नो ओभुलेसन र यौनिक चाहनाबारे यति खुलेर कसरी कुरा गर्लिन्? सुजातालाई आफ्नो सन्तानलाई नाम दिन श्रीमान् नै चाहिँदैन भनेर यति कठोर शैलीमा कसरी भन्न सक्छिन्? जस्ता प्रश्नले उनलाई घेरिरहन्थ्यो। “सायद म (पवित्रा) भएको भए यही कुरा सफ्ट भएर भन्थे होला, यस्ता प्रश्न बेलाबखतमा आए,” पवित्रा भन्छिन्।
आफूले निर्वाह गर्न लागेको पात्रबारे उब्जिएका प्रश्नबारे उनले लेखक तथा निर्देशकसँग लामो छलफल गरिन्। शिल्पी थिएटरको पात्रमाथि गहिरो अनुसन्धान र बहस गर्ने शैली उनलाई मन पर्छ। उनले भूमिजस्ता पात्र खोज्न क्याफे, पबदेखि अनेक ठाउँ चहारिन्। महिलावादी लेखक र एकल आमासँग घण्टौँ बिताइन्। त्यसपछि मात्रै उनी भूमिको चरित्रमा डुब्न तयार भइन्।
“अहिलेका २०–२५ उमेरमा महिला बेवाक छन्। उनीहरू आफ्नो धारणा राख्न हिचकिचाउँदैनन्। बदलिँदो सामाजिक प्रक्रियामा रियल लाइफमा यस्ता व्यक्तिसँग भेट्न, बुझ्न पाउनु बेग्लै ज्ञानको अनुभूति रह्यो,” पवित्रा सुनाउँछिन्।

माओवादी द्वन्द्वले मोडेको काठमाडौँको यात्रा
पवित्राको जन्म रामेछापमा भएको हो। पवित्रा कक्षा नौ पढ्दै गर्दा माओवादी द्वन्द्व शुरू भयो। त्यसपछि सबै विद्यालय बन्द भए। छोरीको पढाइ रोक्न उनकी आमालाई मन थिएन। आमाले द्वन्द्वबाट सुरक्षित राख्न र पढाइको निरन्तरताका लागि काठमाडौँमा रहेकी बहिनीकहाँ पवित्रालाई पठाइन्।
उनले कक्षा नौदेखिको बाँकी अध्ययन काठमाडौँबाटै थालिन्। काठमाडौँका विद्यालयमा पढाइसँगै हुने अतिरिक्त क्रियाकलापले उनलाई नृत्यतर्फ आकर्षित गऱ्यो।
“काठमाडौँका विद्यालयमा पढाइसँगै नृत्य, गायनलगायतका अतिरिक्त क्रियाकलाप पनि हुने रहेछन्। मलाई नृत्यमा रुचि थियो। थोरबहुत भाग पनि लिएँ,” उनले सुनाइन्, “एसएलसीपछि फुर्सदको तीन महिना नृत्य नै सिकेँ। त्यो बेला साथीहरूबाट वीरेन्द्र हमाल सरले एयाक्टिङ सिकाउनु हुन्छ भन्ने पनि थाहा पाएँ।”
साथीहरूकै लहलहैमा उनले अभिनय पनि सकिन्। मोडलिङ पनि गरिन्। फुर्सदमा सिकेका ती शिल्पले कुनै दिन शिल्पी थिएटरसम्म लैजाला भन्ने उनले सोचेकी पनि थिइनन्।
बिनायोजना नाटक क्षेत्रमा धकेलिँदै गएको उनलाई पत्तै भएन। त्यही फुर्सदको सिकाइले उनलाई सडक नाटक हुँदै शिल्पी थिएटरसम्म पुऱ्यायो र उनको नाट्य यात्रा औपचारिक रूपमा शुरू भयो।
अबुझ बनिरहेको विषय: महिलावाद
मुक्तरंगमञ्चका लागि गाउँ–गाउँ पुग्दा उनले महिलाका समस्या र भावनालाई नजिकबाट नियाल्न पाइन्। फोरम थिएटरमार्फत उनले गरेको नाटक थियो, ‘कल्पना उर्मिला दुःखमा छन्’। यसमा उनी कल्पना नामक बुहारी पात्रको भूमिकामा थिइन्। यो नाटक लिएर गाउँ–गाउँ पुग्दा कलिलो उमेरमा बच्चा बोकेर नाटक हेर्न आएका महिलामा उनले कल्पना पात्र देखिन्।

नाटक सकिएपछि केही महिलाले उनलाई सोधे, “तपाईंले हाम्रो कुरा कसरी बुझ्नुभयो?” तर उनीसँग यसको उत्तर थिएन। यतिचाहिँ महसुस भयो कि उनले निर्वाह गर्ने पात्रहरू धेरै महिलाका दबिएका आवाज हुन्। यस्तै, अनुभवले उनलाई महिलाका विषयमा आवाज उठाउनुपर्छ भन्ने बोध गरायो।
‘कोमाः ए पोलिटिकल सेक्स’ पवित्राको पहिलो रंगमञ्च प्रस्तुति हो। दोस्रो नाटक ‘मजिपालाखे’ थियो। ‘विमोक्ष’ नाटक ‘लस्ट एन्ड फाउन्ड’ अघिको उनको नाटक थियो।
रंगमञ्चमार्फत महिलाका मुद्दालाई नजिकबाट नियालिरहेकी पवित्राले महिला राजनीतिकर्मीले भोग्ने यथार्थलाई पनि देखेकी छन्। शिल्पीबाटै मञ्चन भएको नाटक ‘ठूलो माछा सानो माछा’मा उनले उपमेयरको भूमिकामा निर्वाह गरेकी थिइन्। संवैधानिक हकमा महिलाको कोटा ३३ प्रतिशत छ तर ती देखाउन मात्र भएको उनी बताउँछिन्।
महिला मेयर र उपमेयरका लागि नाटक मञ्चन गर्दा उनले ती पद महिलाका लागि कसरी ‘थपना’ मात्र बनेका छन् भन्ने गुनासो सुनिन्। “उपमेयरको काम गर्ने दायरा सीमित हुने, रातबिरात हुने बैठकले महिलामैत्री वातावरण नहुने जस्ता गुनासा उहाँहरूबाटै सुनेँ,” उनी भन्छिन्, “राज्यबाट महिला अधिकारको सुनिश्चितताको आशा गर्ने बेलामा, उल्टै त्यहीँ महिला बढी हेपिएका छन्।”
यद्यपि, समाज परिवर्तनको सम्पूर्ण जिम्मा कलाकारले मात्र लिन सक्दैन भन्नेमा उनी प्रस्ट छिन्। तर आफूले पढेको र जानेको विषयलाई नाटकमार्फत अभिव्यक्त गर्न पाउनुलाई उनी आफ्नो प्यासन र एउटा सुन्दर माध्यम मान्छिन्।
महिला अधिकारका विषयमा अभिनय र अध्ययनलाई सँगै अगाडि बढाइरहेकी उनी समाजमा ‘महिलावाद’लाई ‘हाउगुजी’जस्तो बनाइएको टिप्पणी गर्छन्। “छोटो कपाल काट्दैमा र आईएनजीओका प्रोजेक्टले दिने सीप सिक्दैमा मात्र महिला उत्थान हुँदैन। मेरी आमा आफैँमा एक फेमिनिस्ट हो। एकल महिलाको रूपमा जसरी उहाँले समाजसँग लड्नुभयो, मलाई शिक्षादीक्षा दिनुभयो र सबल बनाउनुभयो, त्यो उहाँभित्रको अठोटले सम्भव भएको हो। उहाँ समाजसँग डराउनु भएन। उहाँ नै असली फेमिनिस्ट हो,” उनी भन्छिन्।

सडक, रंगमञ्च अनि जीवन
एक दशक रंगमञ्चमा बिताएकी उनले १५ वटा नाटक गरिसकेकी छन्। कोमा: अ पोलिटिकल सेक्स, मजिपा लाखे, हारजित, चिरिएका साँझ, दीक्षान्त, समाजमा नाइके, तारतुफ (झलेन्द्र प्रसादको लीला), नो एक्जिट (अनुपस्थिति ३), मुनामदन, मुकुन्द इन्दिरा, विमोक्ष, लास्ट एन्ड फाउन्ड लगायतका नाटकमा बन्द रंगमञ्चमा उनले अभिनय गरेकी छन्।
फोरम थिएटर र मुक्त रंगमञ्चअन्तर्गत उनले अभिनय गरेका कल्पना उर्मिला दुखमा छन्, ठूला माछा साना माछा, अलिकति उज्यालो, साना साना सपना, अनिदा रात, सट्टापट्टा, हिउँको पृथ्वी यात्रालगायत नाटक हुन्। यसबाहेक महिलाका मुद्दामा धर्को, आकृति उनले बनाएका सर्टमुभि हुन्।
फर्किएर हेर्दा ती नाटकबाट पाएका सिकाइ उनको सबैभन्दा ठूलो कमाइ हो। समाजमा व्याप्त असमानता, भेदभावलाई नाटकमार्फत ‘माइक्रोस्कोप’मा हेरे जसरी सूक्ष्म रूपमा हेर्न पाएको उनी बताउँछिन्।
समाजलाई बुझिरहँदा पवित्रालाई भने उनको परिवारले बुझ्न सकिरहेको थिएन। जति बेला उनी मुक्तरंगमञ्च गरिरहेकी थिइन्, त्यतिबेला अन्य कुनै ‘राम्रो’ काम गर्न अथवा विदेश नै जान पनि सुझाव आयो।
“कला क्षेत्रलाई अधिकांशले केही क्षणको रमाइलो(हबी)का रूपमा बुझ्नुहुँदो रहेछ। मेरो हकमा पनि त्यही लागू भयो,” पवित्राले हाँस्दै भनिन्, “अहिले पनि बरु विदेश नै गइदिए हुनेथ्यो, नाटक गरेर पुगेन र? भन्नु हुन्छ।”
अन्यक्षेत्रको तुलनामा कलाक्षेत्रमा हुने औसत कमाइ र अस्थायीपन परिवारको मुख्य चिन्ता हो भन्ने पनि उनले बुझेकी छन्। “हरेक अभिभावक आफ्नो सन्तान सेटल होऊन् भन्ने चाहन्छन् जुन कदापि नकारात्मक होइन,” उनी भन्छिन्।
यस्तो अवस्थामा आफ्नो काम, भविष्यप्रति इमानदार हुनुपर्ने पवित्राको सुझाव छ। आफ्नो प्यानसमा बफादार हुँदै गर्दा परिवारले बिस्तारै बुझ्दै जानेमा उनी आशावादी छिन्।
“मलाई आज पवित्रा भनेर जतिले चिन्नु हुन्छ, त्यो मेरो कमाइ यस क्षेत्रमा गरेको मिहिनेतको फल हो। स्वआर्जन हो। नत्र मेरो परिचय पिता, पतिमा मात्रै सीमित हुन्थ्यो कि!” उनी भन्छिन्।

यद्यपि, कतिपय अवस्थामा मनोबल उच्च हुँदाहुँदै पनि अभाव, परिस्थितिले दिग्भ्रमित बनाएको अनुभव उनीसँग पनि छ। ‘कोमाः अ पोलिटिक सेक्स’ र ‘माजिपालाखे’ नाटकपछि पवित्रा केही समय यो क्षेत्रबाट टाढिइन्।
कारण, भाटभटेनीमा काम, साथै बीबीएसको पढाइ। भाटभटेनीमा काम थालेको तीन महिनामै शिल्पी थिएटरबाट जागिरसहितको ‘अफर’ आयो। आफूभित्र घुलिसकेको नाट्य रसले उनलाई थप केही नसोची फेरि शिल्पीमा फर्किन बाध्य पार्यो। बीबीएस छाडिन् अनि पद्म कन्यामा नृत्यको ‘कोर्स’ लिन थालिन्। अहिले उनी त्रिभुवन विश्वविद्यालयमा ‘जेन्डर स्टडिज्’मा स्नातकोत्तर गरिरहेकी छन्।
“अहिले पनि कहिलेकाहीँ फ्रस्टेसन (तनाव) हुन्छ, यो मानवीय स्वभाव हो,” उनी भन्छिन्। तनाव हुँदा भारतकी रत्ना पाठकलाई सुन्ने गर्छिन्। उनका विचारले ऊर्जा दिने पवित्राको भनाइ छ। त्यस्तै, कमला भासिनका विचारलाई पनि ‘फलो’ गर्छिन्। त्यसबाहेक, नेपाली रंगमञ्चमा निशा शर्मा, सरिता गिरी, सुनिल पोखरेल, घिमिरे युवराजलगायतका कलाकारप्रति उनको उच्च सम्मान छ।
जतिसुकै बाधा परे पनि आफ्नो जीवन कला क्षेत्रमै समर्पित गर्ने पवित्राको अटोट छ। अभिनयसँगै निर्देशक र लेखनमा पनि उनको रुचि छ। ‘भृकुटी’ नाटक उनको पहिलो निर्देशक थियो। नाटकबाहेक फुर्सदमा यात्रा गर्न रुचाउँछिन्। नयाँ ठाउँमा यात्रा गर्दा नयाँ पात्र र जीवन खोज्छिन्।
“रंगमञ्चको ब्याल्क बक्सभित्रबाट समाज नियाल्दा असमानता, भेदभाव प्रस्ट देखिन्छ। यस्ता विषयमा आफैले आफूमा उज्यालो खोज्न चाहन्छु। मेरो जीवनयात्राको सुन्दर सफर यही हो,” पवित्रा आफ्नो भनाइ टुंग्याउँछिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
