बाम्का आगलागी: पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

बुढीगंगा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा शुक्रबार दिउँसो खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो।

बाजुरा– बाम्का बजारमा शुक्रबार दिउँसो भएको आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ। खाना पकाउने ग्यासको सिलिन्डरबाट भएको आगलागीको क्षतिको विवरण संकलन गरी प्रदेश र संघीय सरकारसँग राहत माग गर्ने निर्णय भएको डीएसपी इकवाल हवारीले जानकारी दिए।  

बुढीगंगा नगरपालिका–६ बाम्का बजारको नवदुर्गा होटलमा खाना पकाउने ग्यास पड्किएर आगलागी भएको थियो। सो आगलागीबाट ३० पसल जलेर नष्ट भएका थिए। ग्यास पड्किएर खुद्रा तथा कपडा व्यापार गर्दै आएका स्थानीयको टिनले छाएका पसल जलेर नष्ट भएका थिए। 

जिल्ला विपद् व्यवस्थापन समितिको आकस्मिक बैठकले आगलागीबाट पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय गरिएको छ। जिल्लामा हुने आगलागीका घटना नियन्त्रण गर्न स्थानीय तहमा दमकलको अभाव रहेको पाइएको छ। यहाँ ९ वटै पालिकाले गाडी खरिद गरे पनि दमकल छैन। आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको छ।