जोगबुडा नदी र महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको कुतियाकवरबस्ती हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ। तटबन्ध निर्माण रोकिएपछि स्थानीय सुरक्षित स्थान खोज्न थालेका छन्।
दोधारा चाँदनी– कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१० कुतियाकवरका खड्के बुढा बाख्रा, गाईभैँसी र बालबच्चासहित कुतियाकवरबाट जोगबुढा वारि सरेका छन्। बाढीबाट जोगिन उहाँसँगै अन्य तीन परिवार पनि कुतियाकवरबाट बसाइँ सर्न थालेका छन्। तीनतिर जोगबुडा नदी र अर्कोतर्फ महाकाली नदीले घेरेको दोधारा चाँदनीको टापुको बस्ती कुतियाकवर हरेक वर्ष बाढीबाट प्रभावित हुँदै आएको छ।
सरकारले जोगबुढा नदीमा तटबन्ध निर्माण थालेपछि बाढीबाट जोगिने आशामा रहेका कुतियाकवरवासी तटबन्ध निर्माण काम रोकिएपछि बाढीको डरले बस्ती छोडेर सुरक्षित स्थान खोज्न थालेका हुन्। “२०७८ सालको बाढीले गाइभैँसी, बाख्रा सबै बगायो घरमा रहेको अन्न पनि बचेन,” विगत सम्झिँदै यहाँका स्थानीय खड्के बुढाले भने, “यस पटक मौसम विभागले पनि धेरै वर्षा हुन्छ भनेको छ यहाँ धेरै बाढी आउँछ बाख्रा भैँसी बचाउन पारिपट्टि सर्दैछु।”
सरकारले जोगबुढा नदीमा तटबन्ध निर्माणको काम शुरू गरेपछि बाढीबाट जोगिने आशा पलाएको बुढाले बताए। नदीमा पानी बढेपछि तटबन्ध निर्माण काम बन्द भएकाले गाउँमा बाढीको त्रास फैलिएको उनको भनाइ छ। यहाँ बाढीले हरेक वर्ष कटान गर्दै आएको छ, महाकालीको बाढी बस्ती पस्दा ज्यान जोगाउन मुस्किल हुन्छ,” उनले भने, “गत वर्ष नेपाली सेना र दातृ निकायको सहयोगमा दुई वटा सेफ हाउस बनेपछि राहत मिलेको छ।” बाढीको त्रासले बस्तीका अन्य तिन परिवार पनि जोगबुढा पारि बसाइ सर्न थालेको बताए। केही वर्ष अघिसम्म बाक्लो बस्ती रहेको कुतियाकवर बाढीकै कारण यहाँबाट धेरै बसाइँ सरेर अन्यत्र गएपछि पातलिँदै गएको छ।
स्थानीय टेकबहादुर सुनारले कुतियाकवरवासी हरेक वर्ष बाढीको चपेटामा पर्दै आएको बताए। “नदीमा तटबन्ध बन्न थालेपछि यस वर्ष बाढीबाट सुरक्षित भइएला कि भन्ने थियो तटबन्ध पुरा हुन सकेन,” सुनारले भने, “बर्खा शुरू हुन लागेपछि यहाँका चार परिवार बाढीको डरले सुरक्षित स्थान खोज्दै बसाइ सर्न थालेका छन्।” उनले जोगबुडा र महाकाली दुवै नदीले कटान गरेर यहाँको बस्ती उच्च जोखिममा रहेको बताए। केही वर्षअघि यहाँ ४९ परिवारको बसोबास रहेको थियो। हाल यहाँ ३९ परिवारको बसोबास छ। बाढीकै कारण केही भारत पसेका छन् भने केही सुरक्षित स्थान खोज्दै अन्यत्र जान थालेका छन्।
पूर्वमा महाकाली र उत्तरमा जोगबुढा नदीको दोसाँधमा रहेको कुतियाकवर दक्षिणमा भने भारतसित जोडिएको छ। विसं २०७४ मा जोगबुढा नदीमा झोलुंगे पुल बनेपछि नगरसित जोडिएको कुतियाकवरमा बर्सेनि जोगबुढा र महाकाली नदीले जमिन कटान हुँदै आएको छ। करिब ५० बिघा क्षेत्रफल रहेको बस्ती हरेक वर्ष हुने कटानले साँघुरिदै गएको छ। बाढीबाट कुतियाकवर बस्ती जोगाउन जनताको तटबन्ध कार्यालयले जोगबुढा नदीमा ८१६ मिटर लामो तटबन्ध निर्माणको काम शुरू गरेको थियो।
ढिलो गरी ठेक्का सुरु भएको र नदीमा पानी बढेपछि निर्माण व्यवसायीले काम गर्न नसकेको जनताको तटबन्ध कार्यालयका इन्जिनियर करुणाकर पन्तले जानकारी दिए। “बजेटको सुनिश्चितताका कारण पनि ढिलो गरी ठेक्का सम्झौता भयो,” उनले भने, “अहिले जोगबुढा नदीमा पानी बढेका कारण निर्माण व्यवसायीले काम गर्न नसकेका हुन्।” उहाँले बस्तीलाई बाढीबाट सुरक्षित गर्ने लक्ष्य अनुसार तीव्र रूपमा काम भए पनि नदीमा पानीको बहाव बढेका कारण तटबन्ध निर्माण सम्पन्न गर्न नसकिएको बताए। उनका अनुसार तटबन्ध निर्माणको २५ प्रतिशत काम सम्पन्न भएको छ।
तटबन्ध निर्माणका लागि कार्यालयले २०८१ चैत २५ गते ५ करोड १६ लाख ६७ हजारमा शंकर कन्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार ८१६ मिटर लामो तटबन्ध २०८२ चैतभित्र सम्पन्न गरिसक्नुपर्ने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
