‘लाहुरे दाइको रेलिमाई’लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार

गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समितिले स्थापना गरेको २ लाख रुपैयाँ राशिको पुरस्कार विदेशमा बस्ने नेपाली लेखकको उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएको छ।

काठमाडौँ– आख्यानकार विजय हितानको ‘लाहुरे दाइको रेलिमाई’लाई २०७९ सालको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ। 

शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलाले सो पुरस्कार प्रदान गरेका हुन्। सो अवसरमा काइँलाले मास्टर मित्रसेनको सैनिक र कलाकारिता जीवनलाई पठनीय किसिमले प्रस्तुत गरेकोमा कृतिकार हितानलाई बधाई दिए। 

नेपाली सेनाका अवकाशप्राप्त रथी साहित्यकार बाबुकृष्ण कार्कीले सो कृति सेना, पुलिसका अतिरिक्त साहित्यका सबै  पाठकलाई रोचक रहेको जानकारी दिए। 

गैरआवासीय नेपाली संघको भाषा तथा साहित्य समितिले स्थापना गरेको २ लाख रुपैयाँ राशिको पुरस्कार विदेशमा बस्ने नेपाली लेखकको उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएको छ। पुरस्कारको यो तेस्रो संस्करण हो।