झापामा पोखरीमा डुबेर तेह्रथुमका दुई बालकको मृत्यु

तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

झापा– अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ ।

तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले जानकारी दिए। 

शनिबार बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए। स्थानीयले पोखरीमा डुबेको थाहा पाएपछि निकालेर उपचारका लागि बिर्तामोडको बीएन्डसी अस्पताल पुर्‍याएका थिए।

दुवैलाई चिकित्सकले बिहान ८ः३० बजेतिर नै मृत्यु भइसकेको घोषणा गरेको डीएसपी खड्काले बताए। दुवै बालकको शव हस्पिटलमै रहेको छ।