बाढीले पुरियो नेपाल–चीन सीमाको ७१ नम्बर स्तम्भ

संखुवासभाको उत्तरी क्षेत्र किमाथांकामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ।

फाइल तस्वीर

संखुवासभा– संखुवासभाको उत्तरी क्षेत्र किमाथांकामा बाढीले नेपाल–चीन सिमानाको सीमास्तम्भ पुरिएको छ।

अविरल वर्षासँगै आएको बाढीले उत्तरी क्षेत्र भोटखोला–१ किमाथांका नाकानजिकै रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख अभिषेक श्रेष्ठले जानकारी दिए। बाढीले नेपाल–चीन सिमानामा नेपालतर्फ रहेको ७१ नम्बरको सीमास्तम्भ पुरिएको हो।

भोटखोला–१ स्थित दोङ्गोप्पा खोला र छोकाङ खोलामा यही जेठ १८ गते आएको बाढीले सीमास्तम्भ बगाएको निमित्त प्रहरी प्रमुख श्रेष्ठले बताए। उनका अनुसार बाढीले ७१ नम्बरको सीमास्तम्भ पुरिएर हराएको छ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी चौकी किमाथांकाबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। माथिल्लो क्षेत्रमा केही दिनयता लगातार वर्षा भइरहेको छ।