उद्धार अभ्यासका क्रममा बेपत्ता भएका सुरक्षाकर्मीको खोजी जारी

विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ।

फाइल तस्वीर

सुनसरी– विपद् उद्धार अभ्यासका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीको खोजी जारी रहेको छ। बिहीबार उद्धार अभ्यासका क्रममा दुई जना सशस्त्र प्रहरी नदीमा बेपत्ता भएका थिए। जसमध्ये एकको शव फेला परेको छ।

दन्तकाली विशेष कार्यतालिम शिक्षालय सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रबार फेला परेको हो। उनको शव सप्तकोशी नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए। 

उनका अनुसार डोटीका सुरज साउद भने अझै बेपत्ता छन्। सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापनको टोली परिचालन गरी साउदको खोजी कार्य जारी रहेको उपरीक्षक तिमल्सिनाले जानकारी दिए।