मस्कले ‘सोच्ने शक्ति गुमाएको’ ट्रम्पको टिप्पणी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उद्यमी एलन मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ भन्दै टिप्पणी गरेका छन्। मस्कले राष्ट्रपति ट्रम्पको प्रस्तावित खर्च विधेयकको आलोचना गरेपछि विवाद चर्किएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी उद्यमी एलन मस्कबीचको विवाद उत्कर्षमा पुगेको छ। उनीहरूबीचको सम्बन्धमा आएको दरार सार्वजनिक रूपमै प्रकट भइरहँदा अमेरिकाको राजनीति र अर्थतन्त्रमा समेत तरंग पैदा भएको छ।

यसैबीच राष्ट्रपति ट्रम्पले मस्कले ‘आफ्नो सोच्ने शक्ति गुमाएको’ भन्दै कडा टिप्पणी गरेका छन्। ह्वाइट हाउसका अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पले मस्कसँग थप वार्ता गर्ने सोचलाई पनि त्यागिसकेका छन्।

एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “इमानदारीपूर्वक भन्नुपर्दा, म चीन, रूस र इरानजस्ता महत्त्वपूर्ण विषयमा व्यस्त छु। म एलन मस्कको बारेमा सोचिरहेको छैन। म उहाँको राम्रो कामका लागि कामना गर्दछु।”

यसअघि, मस्कले राष्ट्रपतिको प्रस्तावित खर्च विधेयकको कडा आलोचना गरेपछि विवाद चर्किएको थियो। राष्ट्रपति ट्रम्पले आफ्नो ‘ठूलो र उत्कृष्ट’ विधेयक कंग्रेसबाट पारित गर्नमा ध्यान केन्द्रित गर्ने बताउँदै आएका छन्।

आफ्ना पूर्वसहयोगी तथा निकट मित्रबाट शत्रु बनेका दक्षिण अफ्रिकी मूलका अर्बपति मस्कलाई निशाना बनाउनबाट ७८ वर्षीय रिपब्लिकन नेता ट्रम्पले चुकेका छैन्। एबीसीसँगको कुराकानीमा मस्कका बारेमा सोधिएको प्रश्नमा ट्रम्पले भने, “तपाईंको मतलब ‘सोच्ने शक्ति गुमाएको मान्छे’? म उहाँसँग कुरा गर्न खासै इच्छुक छैन।” पछि उनले फक्स न्यूजसँग पनि मस्कले ‘सोच्ने शक्ति गुमाएको’ भन्ने भनाइ दोहोर्‍याए।

कसरी शुरू भयो विवाद?
मस्कले गत मंगलबार ट्रम्पको खर्च विधेयकलाई ‘घृणित’ भन्दै टिप्पणी गरेपछि उनीहरूबीचको सम्बन्धमा चिसोपना शुरू भएको हो। जवाफमा, राष्ट्रपति ट्रम्पले बिहीबार ओभल अफिसबाट आफू मस्कबाट ‘धेरै निराश’ भएको बताएका थिए।

यही विवाद चुलिँदै गएपछि मस्कले एक साताअघि मात्र सरकारी लागत कटौतीको भूमिका दिइएको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डीओजिई)’ मा चार महिना काम गरेपछि राजीनामा दिएका थिए।

आलोचकहरूले ट्रम्पको खर्च विधेयकले अमेरिकी घाटा बढाउने र लाखौँ गरिब अमेरिकीको स्वास्थ्य सेवा कटौतीमा पर्ने बताउँदै आएका छन्।

स्पेस एक्सका सम्झौता जोखिममा
विवादकै बीच राष्ट्रपति ट्रम्पले मस्कको कम्पनी स्पेस एक्सले पाएको अर्बौं डलरको रकेट र स्याटेलाइट सम्झौता रद्द गर्न सक्ने संकेत गरेका छन्।

मस्कसँगको सम्झौता कटौती गर्नेबारे कत्तिको गम्भीर हुनुहुन्छ भनी सोधिएको प्रश्नमा ट्रम्पले शुक्रबार राति भने, “यो धेरै ठूलो रकम हो, धेरै अनुदान हो। हामी यसमा एक नजर लगाउनेछौँ र यदि यो देशका लागि उचित ठहरिएमा मात्र अघि बढाइनेछ।”

यता, सामाजिक सञ्जालमा बढ्दो तनावलाई कम गर्ने प्रयास स्वरूप मस्कले आफ्नो कम्पनीको ड्रागन अन्तरिक्ष यानमार्फत नासाका अन्तरिक्ष यात्रीलाई अन्तरिक्ष केन्द्रसम्म पुर्‍याउने अभियान रद्द गर्ने चेतावनी शुक्रबार फिर्ता लिएका छन्।