बुर्तिबाङलाई नयाँ शहर बनाउने कार्य सुस्त गतिमा

पर्याप्त बजेट नआउँदा र आएको सबै बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा काममा ढिलासुस्ती भएको छ।

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गमा दश नमूना शहर बनाउने सरकारको आयोजनाअनुसार बागलुङको बुर्तिबाङमा पनि काम भइरहेको छ। बुर्तिबाङलाई नयाँ शहर बनाउन २०६९ सालमा घोषणा गरिएको थियो। आर्थिक वर्ष २०७२/७३ मा सरकारले बजेट विनियोजन नै गरेर काम अगाडि बढाएको थियो। तर, १२ वर्षसम्म पनि अपेक्षाकृत रूपमा काम हुन सकेको छैन। २०६९ साल अगाडि नै बुर्तिबाङमा बजारको रूपमा स्थापित थियो। 

त्यसलाई थप व्यवस्थित गर्दै जाने भनिए पनि पर्याप्त बजेट नआउँदा र आएको सबै बजेटलाई पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्दा काममा ढिलासुस्ती भएको छ। २०६९ देखि २०९० सालसम्म आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य थियो। आयोजना शुरू भएदेखि हालसम्म ७८ करोड रुपैयाँभन्दा बढी रकम सरकारले विनियोजन गरेको छ। त्यसमध्ये ५० करोड मात्र खर्च भएको छ। नयाँ शहर आयोजनाले अझै थुप्रै पूर्वाधारका क्षेत्रमा काम गर्न बाँकी नै छ।

आयोजनाले हालसम्म १६.३ किलोमिटर सडक ढलान, ६.३ किलोमिटर नाला निर्माण, पाँच किलोमिटर नयाँ सडक ट्रयाक निर्माण, एउटा सभाहल, कुतथ्याप्लामा एकीकृत भवन, मनोरञ्जन पार्क निर्माण, दुई ७२ स्थानमा सौर्यबत्ती जडान, ५६ रोपनी जग्गा खरिद गरेको आयोजना कार्यालय सूचना अधिकारी कोमल शाहले जानकारी दिए। अहिले बसपार्क र टर्मिनल भवन निर्माणको भइरहेको छ। विनियोजित रकम खर्चका आधारमा पाँच प्रतिशत मात्र काम भएको उनले बताए।  

हाल तारीखेतबाट कुत्थ्याप्ला पहुँचमार्ग, पार्क निर्माण, कर्वडहलबाट दुलेसम्मको सडक र भब्रेटामा खेलकुद मैदान निर्माण भइरहेको छ। बुर्तिबाङ बजार जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र र नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वार हो। बजार क्षेत्रमा सवारी चाप बढ्दै गए पनि सडकको अवस्था पुरानै छ। कालोपत्र सडक निर्माण, व्यवस्थित विद्युतीकरण, खानेपानी, ढल निकासीलगायतको प्रबन्ध, उद्यान, खेलमैदान, मनोरञ्जनस्थल, हाटबजारलगायत पूर्वाधार निर्माण हुनुपर्ने भए पनि अझै धेरै काम गर्न बाँकी रहेको सूचना अधिकारी शाहको भनाइ छ। 

बर्सेनि करोडौँको बजेट नयाँ शहरका लागि आए पनि काम नभएको स्थानीय कुलमबहादुर घर्तीले बताए। आयोजना कार्यालयले फाट्टफुट्ट कम गरे पनि देखिने गरी नभएको उनको भनाइ छ। आम नागरिकले बढी प्रयोग गर्ने सडक, खानेपानी र बसपार्क भएको भन्दै ती कुनै पनि पूर्वाधार व्यवस्थित नभएको घर्तीले सुनाए। 

“अहिलेसम्म गतिलो संरचना बनेको देखिँदैन, बुर्तिबाङ बजारमा अहिले पनि पहिलेकै साँघुरो सडक छ,” उनले भने, “ओहोरदोहोर गर्न गाह्रो छ, साँघुरो सडकमा जोखिम मोलेर यात्री हिँड्छन्, फोहर व्यवस्थापन पनि हुन सकेको छैन।” अझै चुरेलावासमा पुल, खेलमैदान, सडक, हाटबजार, शीतभण्डार निर्माणलगायतका संरचना निर्माण गर्न बाँकी रहेको नयाँ शहर आयोजना कार्यालयले जनाएको छ।