युक्रेनसँग सम्झौता गर्न तयार छौँ : पुटिन

राष्ट्रपति पुटिनले एक अन्तर्वार्ताका क्रममा युक्रेनको तनावसँग सम्बन्धित सबै पक्षसँग सम्झौता गर्न रुस तयार भएको बताएका हुन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अन्ततः युक्रेनसँग सम्झौता गर्न तयार भएका छन्। 

राष्ट्रपति पुटिनले आइतबार एक अन्तर्वार्ताका क्रममा युक्रेनको तनावसँग सम्बन्धित सबै पक्षसँग सम्झौता गर्न रुस तयार भएको बताएका हुन्। 

अन्तर्वार्तामा पुटिनले भने, “हामी सम्झौता गर्न तयार छौँ। स्वीकार्य समाधानका लागि सम्बन्धित सबै पक्षसँग सम्झौता गर्न तयार छौँ। तर यो सबै उनीहरूमा निहित छ। वार्ताबाट हामी होइन उनीहरू नै पछि हटिरहेका छन्।” 

त्यस्तै, अगाडि उनले भने, “मलाई लाग्छ हामी सही दिशामा छौँ। हामीले आफ्नो राष्ट्रिय स्वार्थ र हाम्रा जनता र नागरिकको रक्षा गरिरहेका छौँ। आफ्ना नागरिकको रक्षा गर्नु बाहेकको विकल्प हामीसँग छैन।”

किभ र पश्चिमा समर्थकहरूले रुससँग वार्तामा बस्न अस्वीकार गरेको पुटिनको भनाइ थियो। पश्चिमा राष्ट्रहरूसँगको भूराजनीतिक तनाव खतरनाक स्थितिमा पुगेको हो भन्ने प्रश्नमा पुटिनले त्यस्तो स्थिति नभएको समेत बताएका थिए।

यता, युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोल्याकले भन्छन्, रुस आफैले युक्रेनमाथि आक्रमण गरेको हो र नागरिकहरूको हत्या गरिरहेको छ। उसले नै वार्ता गर्न चाहन्न बरु आफ्नो जिम्मेवारीबाट पछि हट्न चाहन्छ। 

रुस आफैँ वार्ता गर्न चाहन्न भन्ने कुरा हेर्न रुसी राष्ट्रपति पुटिन वास्तविक धरातलमा फर्किनुपर्छ।

-एजेन्सीको सहयोगमा