सप्तकोशीमा बेपत्ता सशस्त्र प्रहरीका गोताखोरको शव फेला

सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर डोटीका सुरज साउदको शव आइतबार भेटिएको छ।

काठमाडौँ– सप्तकोशी नदीमा बेपत्ता भएका गोताखोरमध्ये बाँकी एक जनाको शव आइतबार भेटिएको छ।

विपद् उद्धार अभ्यासका क्रममा गत बिहीबार सशस्त्र प्रहरी बलका दुई जना गोताखोर सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित सप्तकोशी नदीमा बेपत्ता भएका थिए। तीमध्ये एक जनाको शुक्रबार र अर्काको आइतबार शव भेटिएको हो।

आइतबार बिहान ११ बजे सशस्त्र प्रहरीका गोताखोर डोटीका सुरज साउद शव भेटिएको हो। उनी सशस्त्र प्रहरीको पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनी मुख्यालयमा कार्यरत थिए।

कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रबाट खटिएको डीएसपी पुरुषोत्तम भण्डारीको टोलीले उनको शव निकालेको हो। उनको शव कोशी ब्यारेजको ५५ नम्बरको ढोकानजिकै भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

उनका अनुसार गोताखोर र तालिम प्राप्त टोली चार दिनदेखि उनको खोजीमा संलग्न रहेका थिए। सुरजसँगै बेपत्ता भएका अर्का सशस्त्र प्रहरी जवान हरदेव राजवंशीको शव भने शुक्रबार नै भेटिएको थियो। दुवै जना सप्तकोशी नदीमा भइरहेको उद्धार अभ्यासमा सहभागी थिए।