अब त्रिवि शिक्षण अस्पतालमै लिंग परिवर्तन शल्यक्रिया

अस्पतालले ‘जेन्डर अफर्मिङ क्लिनिक’ स्थापना गरी लिंग परिवर्तन शल्यक्रिया सेवालाई विस्तार गर्ने जनाएको छ।

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पुरुषबाट महिलामा लिंग परिवर्तन शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ। अस्पतालले २१ वर्षीया ट्रान्सजेन्डर महिलाको जननेन्द्रिय अंगको पुनर्निर्माणसम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो। अस्पतालले यस्तो शल्यक्रिया नेपालमा पहिलो पटक भएको जनाएको छ।  

“जनकपुर निवासी २५ वर्षीया ट्रान्सजेन्डरमा गरिएको सेक्स चेन्ज अपरेसनमा पुरुषको लिंगको तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अंगको पुनर्निर्माण गरियो र यसले सो व्यक्तिलाई आफूलाई चाहेको लैंगिक पहिचान प्राप्त गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ,” त्रिवि अस्पतालका प्रवक्ता सहप्राडा. गोपाल सेढाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अस्पतालका अनुसार प्लास्टिक सर्जरी विभागले जेठ १२ देखि १५ गतेसम्म विभिन्न ट्रान्सजेन्डर व्यक्तिहरूको सफल लैंगिक पहिचानसम्बन्धी शल्यक्रिया सम्पन्न गरिएको थियो। प्रमुख प्लास्टिक सर्जन डा. अलिरेजा हमिदान जाह्रोमीको नेतृत्वमा डा. जयमन श्रेष्ठको संयोजकत्वमा अस्पतालको शल्यक्रिया विभागले यो शल्यक्रिया सम्पन्न गरेको हो।

यस कार्यमा डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. सुमित शर्मा, डा. विकाश राजभण्डारी, डा. हिमालय तिमला लगायतका रेजिडेन्ट डाक्टरहरू तथा एनेस्थेसियाका डा. अनुप थापा, डा. सुदिप पण्डित, डा. आशिष अधिकारी, डा. नील ढुंगाना, डा. आदिकविको सहभागिता रहेको थियो। डा. मेधा कोइराला तथा डा. पंकज जोशीको टोलीले पनि सहयोग गरेको अस्पतालले जनाएको छ।

अस्पतालले अब यसै अस्पतालमा 'जेन्डर अफर्मिङ क्लिनिक' स्थापना गरी नियमित रूपमा यो सेवालाई अझै विस्तार गर्ने डा. जयमन श्रेष्ठले जानकारी दिए।

लिंग परिवर्तनको शल्यक्रिया ट्रान्सजेन्डर व्यक्तिहरूलाई आफ्नो लैंगिक पहिचान प्राप्त गर्नका लागि महत्त्वपूर्ण उपचार मानिन्छ। यसअघि नेपालमा यस्तो सुविधा उपलब्ध नहुँदा ट्रान्सजेन्डर समुदायले ठूलो समस्या भोग्नुपरेको थियो। यो सेवा शुरू भएसँगै अब ट्रान्सजेन्डर व्यक्तिहरूले आफ्नो लैंगिक पहिचानअनुसारको जीवनयापन गर्न पाउने र उनीहरूलाई यसबाट ठूलो राहत मिल्ने अस्पतालको भनाइ छ।