सोमबार बस्ने गरी स्थगित भयो प्रतिनिधिसभा बैठक

प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक सोमबार २ बजेसम्म स्थगित भएको छ।

काठमाडौँ– प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सभामुखले पटक–पटक सदनमा अवरोध नगर्न आग्रह गरे पनि प्रतिपक्षीले नमानेपछि आइतबारको बैठक स्थगित गरिएको हो। अर्को बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ।

आइतबार प्रतिनिधिसभाको बैठक पटक–पटक सरेर साँझ साढे ६ बजे शुरू भएको थियो। सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रतिपक्षी र केही सत्तापक्षका सांसद उभिए।

सभामुख घिमिरेले सदन सञ्चालनका लागि सांसदलाई बस्न आग्रह गरे पनि बस्न मानेनन्। त्यसपछि उनले बैठक सोमबार दिउँसोसम्मका लागि स्थगित गरेका हुन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामालगायतका माग्दै प्रतिपक्षी दलले संसद्मा अवरोध गरिरहेका छन्।