नेपाललाई स्कटल्यान्डले दियो ३२४ रनको लक्ष्य

आईसीसी विश्वकप लिग–२ अन्तर्गत आइतबारको खेलमा स्कटल्यान्डले नेपालसामु ३२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

काठमाडौँ आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलाको आइतबारको खेलमा स्कटल्यान्डले नेपालसामु ३२४ रनको लक्ष्य प्रस्तुत गरेको छ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको बनाएको हो।

ब्याटिङतर्फ स्कटल्यान्डका लागि कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ्स खेले। उनले ११४ बलको सामना गर्दै ६ चौका र ४ छक्काको मद्दतमा १०२ रन बनाएका हुन्।

त्यस्तै, माइकल लिस्क ६२ बलमा १२ चौका र ३ छक्काको मद्दतमा ९६, चार्ली टियर ६५ बलमा ९ चक्का प्रहार गर्दै ६८ रन बनाउँदा मार्क वाटले २१ र फिनले म्याकक्रियाथले १७ रन जोडे।

बलिङतर्फ करण केसी र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिँदा ललित राजवंशीका नाममा १ विकेट रह्यो।

नेपालले जारी शृंखलाको यसअघिको खेलमा स्कटल्यान्डविरुद्ध १ विकेटको जित निकालेको थियो। साथै नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो।

विभिन्न आठ टोली सहभागी लिग–२ मा स्कटल्यान्ड १८ खेलमा २२ अंकका साथ चौथो स्थानमा छ। नेपाल भने १४ खेलमा १० अंकका साथ अंक तालिकाको सातौँ स्थानमा छ।