सुन्तला लगाउने बारीमा भेटिएका वस्तु यार्सागुम्बा भएको पुष्टि

पाल्पाको रम्भा गाउँपालिकामा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बा जस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो।

पाल्पा– यहाँको रम्भा गाउँपालिका–२ फोक्सिङकोट र  वडा नं ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ। राष्ट्रिय विधिविज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए।

रिमिघा लेकमा गत साता यार्सागुम्बा जस्तै देखिने वस्तु फेला परेको थियो। उक्त क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बा जस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो। गाउँपालिकाले उक्त क्षेत्रमा प्रवेश निषेध गरेको छ। पालिकाले सूचना नै निकालेर सो क्षेत्रमा प्रवेश निषेध गरेको हो।

प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर यार्सा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए।

“रिमिघा लेकमा यार्सा नै भएको प्रमाणित भएको छ,” प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले भने “तर त्यो कस्तो प्रजातिको हो, साथै त्यसको मेडिसनल भेल्यु कति छ भन्ने यकिन भएको छैन।” एक हजार आठ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा यार्सा भेटिएको प्रमाणित भएपछि जिल्लावासी उत्साहित भएका छन्।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने यार्सागुम्बा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त प्राकृतिक जडीबुटी हो। यार्सागुम्बा विश्वमा आपूर्तिको दृष्टिकोणले चीनपछि नेपाल दोस्रो स्थानमा रहेको बताइएको छ। यार्सागुम्बामा औषधिजन्य गुण अन्तरनिहित हुने हुँदा यसको प्रयोग शक्तिवर्द्धक, क्यान्सर, रक्तअल्पता, क्षयरोग, फोक्सोको संक्रमण, मिर्गौला, कलेजोसम्बन्धी, मुटु आदि रोगको औषधि बनाउन प्रयोग हुने जनाइएको छ।

समुद्री सतहबाट तीन हजार पाँच सय मिटरदेखि पाँच हजार पाँच सय मिटरसम्मको उचाइमा यार्सागुम्बा पाइन्छ। आयुर्वेद चिकित्सककाअनुसार यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो।