मार्गप्रशस्त गरेर छानबिनमा सहयोग गर्न गृहमन्त्रीलाई माओवादीको सुझाव

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ।

तस्वीर : रासस

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्री रमेश लेखकलाई सुझाव दिएको छ।

राष्ट्रियसभाको सोमबारको बैठकको आकस्मिक समयमा माओवादी केन्द्रका सांसद सुरेश आले मगरले गृहमन्त्री पदमा बहाल रहुन्जेल मातहतको निकायले निष्पक्ष छानबिन गर्न नसक्ने जिकिर गरे। 

“गृहमन्त्रीले बदमासी गर्नुभएको छैन भन्ने हाम्रो पनि विश्वास हो, तर व्यवहार र तथ्यले त्यसको पुष्टि गर्दैन, गृहमन्त्रीले आफू नैतिकवान् र इमानदार रहेको प्रमाणित गर्न पनि मार्ग प्रशस्त गर्नुपर्छ। छानबिनका लागि तयार हुनुपर्छ,” सांसद आले मगरले भने।

उनले विगतमा पनि विभिन्न प्रकरणमा मुछिएका कर्मचारीलाई विमानस्थल अध्यागमनजस्तो महत्त्वपूर्ण जिम्मेवारी किन दिइयो भनी प्रश्न गरे।

‘भारतमा कोरोना बढ्दै छ, सचेत बनौँ’
सभाको शून्य समयमा सांसद कृष्णप्रसाद पौडेलले पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढिरहेकाले सीमावर्ती नाकामा स्वास्थ्य परीक्षण र निगरानीलाई थप प्रभावकारी बनाउन आग्रह गरे। सांसद गोमादेवी तिमिल्सिनाले कोरोना संक्रमण फैलन नदिन सचेतना अपनाउन सरकारको ध्यानाकर्षण गराइन्।

सोनामग्याल्जेन शेर्पाले सोलुखुम्बुको थामे क्षेत्रमा हिमपहिरोबाट प्रभावित बनेका नागरिकलाई तत्काल राहत उपलब्ध गराउन माग गरे।

सांसद जगतबहादुर पार्की, नरबहादुर विष्ट, नारायणदत्त मिश्र, भुवनबहादुर सुनार, मदनकुमारी शाह गरिमा, युवराज शर्मा र राजेन्द्रलक्ष्मी गैरेले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए।