नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम भने घट्यो

सोमबार नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ को बिन्दुमा कायम भएको छ।

काठमाडौँ– शेयर बजारमा सोमबार दोहोरो अंकको सुधार देखिएको छ। लगातार चार कारोबार दिन घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार दोहोरो अंकको सुधार देखिएको हो।

नेप्सेका अनुसार सोमबार परिसूचक २३.१९ अंक अर्थात् ०.८८ प्रतिशतले बढेर २६५३.०९ को बिन्दुमा कायम भएको हो। नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

यस दिन १२४ कम्पनीको एक करोड ७५ लाख एक हजार ८०२ कित्ता शेयर ७८ हजार ८४८ पटक खरिदबिक्री हुँदा आठ अर्ब ६८ करोड ९३ लाख ५० हजार ३१९ रुपैयाँ बराबरको कारोबार भएको छ। यसअघि आइतबार नौ अर्ब १३ करोड ७४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिन होटल तथा पर्यटन ०.२५, जीवन बीमा ०.०९ र व्यापार समूहको उपसूचक ०.४४ प्रतिशतले घटेको छ। अरू सबै समूहको उपसूचक बढेको छ।

बैंकिङ ०.४३, विकास बैंक ०.१७, वित्त ०.५९, जलविद्युत् २.३५, लगानी १.१४, निर्माण तथा प्रशोधन ०.२०, लघुवित्त ०.४८, म्युचुअल फन्ड ०.०७, निर्जीवन बीमा ०.४४ र अन्य अन्य समूहको उपसूचक २.६३ प्रतिशतले बढेको छ।

यस दिनको कारोबारमा मकर जितुमाया सुरी हाइड्रो पावर, प्योर इनर्जी, डोल्टी पावर र विन्द्धाश्वरी हाइड्रो पारको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ भने भूगोल इनर्जीको शेयर मूल्य सबैभन्दा धेरै ७.४७ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा सबैभन्दा बढी राधी विद्युत्को ६२ करोड २८ लाख तीन हजार ५५८ रुपैयाँ बरबरको शेयर किनबेच भएको छ। कारोबार संख्याका आधारमा सबैभन्दा बढी युनिभर्सल पावरको ११ लाख ६५ हजार ४१९ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ।