सूचना प्रकाशन नै नगरी भुक्तानी लिएको आरोपमा सम्पादकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पत्रिकामा सूचना प्रकाशन नै नगरी भुक्तानी दिएको आरोपमा फतुवा विजयपुर नगरका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, जनसवाल राष्ट्रिय दैनिकका सम्पादकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

काठमाडौँ–  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल, जनसवाल राष्ट्रिय दैनिकका सम्पादकसहित पाँच जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। 

अख्तियारले कृषकका लागि औषधि स्प्रे टंकी खरिदका लागि बोलपत्र आह्वानको सूचना नै प्रकाशन नगरी भुक्तानी दिई अनियमितता गरेको आरोपमा उनीहरूविरुद्ध दुई लाख १२ हजार २२५ रुपैयाँ बिगो मागदाबीसहित आरोपपत्र दायर गरिएको हो। 

अख्तियारको अनुसन्धानबाट उनीहरूले सूचना प्रकाशन नै नगरी नक्कली पत्रिका र बिल भरपाई बनाएर भुक्तानी लिएको खुलेको छ। आयोगका अनुसार, आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाले किसानलाई स्प्रे टंकी वितरण गर्न बोलपत्र आह्वान गरेको थियो। उक्त बोलपत्रको सूचना ‘जनसवाल राष्ट्रिय दैनिक’ पत्रिकामा र बोलपत्र स्वीकृतिको आशयको सूचना ‘तराई पोस्ट’मा प्रकाशित भएको भनी भुक्तानी दिएको तर प्रेस काउन्सिल नेपालले ती सूचना ती पत्रिकामा प्रकाशित नभएको पुष्टि गरेको छ।  

यस कार्यमा संलग्नले पत्रिकामा सूचना छापेको भन्दै जनसवाल राष्ट्रिय दैनिकलाई एक लाख ७२ हजार ८२५ र तराई पोस्टलाई ३९ हजार ४०० रुपैयाँ गरी दुई लाख १२ हजार २२५ रुपैयाँ भुक्तानी दिएर नगरपालिकालाई हानि पुर्‍याएको आयोगले जनाएको छ। साथै, भुक्तानीका लागि काटिएको चेक र अन्य सरकारी कागजातमा केरमेट गरी सच्याइएको पनि पाइएको छ।

फतुवा विजयपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादव र तत्कालीन सह-लेखापाल नवीनकुमार यादवमाथि दुई लाख १२ हजार २२५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) बमोजिम कैद र बिगो बराबर जरिबानाको माग गरेको छ। साथै, सरकारी कागजात केरमेट गरेकोमा सोही ऐनको दफा ११ बमोजिम थप कैद र जरिबानाको पनि माग गरिएको छ।  

अख्तियारले जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगालेविरुद्ध एक लाख ७२ हजार ८२५ रुपैयाँ, तराई पोस्टका प्रकाशक रुपेन्द्र पटेलविरुद्ध ३९ हजार ४०० रुपैयाँ र तराई पोस्टका प्रतिनिधि ओमप्रकाश यादवविरुद्ध दुई लाख १२ हजार २२५ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचारमा मतियारका रूपमा मुख्य कसुरदारसरह सजायको मागदाबी लिएको छ।।