काठमाडौँ महानगरका तत्कालीन इन्जिनियर कोइरीको साढे ४ करोडको गैरकानूनी सम्पत्ति, भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीविरुद्ध गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ।

अख्तियारले २०४६ वैशाख १९ गतेदेखि २०७८ फागुन ३० गतेसम्मको अवधिमा उनको आयस्रोतभन्दा चार करोड ५८ लाख रुपैयाँ बढी सम्पत्ति भेटिएको भन्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले अनुसन्धानका क्रममा कोइरीको तीन करोड ३७ लाख रुपैयाँ वैध आम्दानी देखिएको तर सात करोड ९६ लाख रुपैयाँ बराबरको सम्पत्ति सिर्जना तथा खर्च गरेको देखिएको जनाएको छ।

उनको आम्दानीभन्दा खर्च र लगानी धेरै देखिएकाले उनीविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार चार करोड ५८ लाख ९७ हजार ४०३ रुपैयाँ बिगो कायम गरी बिगो बमोजिमको जरिबाना र कैद सजायको मागदाबी लिएर मुद्दा अगाडि बढाइएको अख्तियारको भनाइ छ।

साथै, अख्तियारले कोइरीको गैरकानूनी सम्पत्ति जफत गर्न पनि अदालतसँग माग गरेको छ। कोइरीले सम्पत्ति विवरणमा गलत जानकारी दिएको उल्लेख गर्दै अख्तियारले थप कारबाहीको माग पनि गरेको छ।

गैरकानूनी रूपमा कमाएको सम्पत्तिबाट उनकी श्रीमती मालाकुमारी महतोको नाममा जग्गा, शेयर खरिद, घर निर्माण र बैंक खातामा जम्मा गरेको पाइएकाले उनलाई पनि सम्पत्ति जफत प्रयोजनका लागि प्रतिवादी बनाएर मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।