महाराष्ट्रमा रेलबाट खसेर ४ जनाको मृत्यु, ९ घाइते

भारतको महाराष्ट्रमा भिडभाडयुक्त रेलबाट खसेर चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

भारतको महाराष्ट्रमा अत्यधिक भिडभाडयुक्त रेलबाट खसेर कम्तीमा चार जनाको मृत्यु भएको छ। अन्य नौ जना घाइते भएका छन्।

घटना सोमबार मुम्बई शहरबाट करिब ४४ किलोमिटरको दूरीमा रहेको मुम्ब्रा रेल्वे स्टेसननजिकै भएको हो।

रेल प्रशासनका अनुसार दुई रेल एकअर्कासँग नजिकैबाट गुडिरहेका बेला दुवै रेलका ढोकामा झुन्डिएर यात्रा गरिरहेका यात्रु आपसमा ठोक्किएका कारण केही यात्रु रेलबाट खसेका थिए।

स्वास्थ्य अधिकारी कैलाश पवारले भने, “घटनामा १३ जना घाइते भएका थिए, जसमध्ये चार जनाको दुःखद निधन भएको छ। गम्भीर घाइतेहरूको विशेष उपचार भइरहेको छ। अहिले सात जना छत्रपति शिवाजी महाराज अस्पतालमा भर्ना छन्।”

मध्य रेलका प्रवक्ता स्वप्निल धनराज निलाले यो रेल ठोक्किएको दुर्घटना नभएर धेरै भीडका कारण भएको घटना भएको स्पष्ट पारेका छन्।

प्रशासनले घाइतेहरूको उपचारमा कमी हुन नदिने बताएको छ। राहत तथा उद्धार कार्यलाई तीव्रता दिएको छ। साथै, घटनाबारे विस्तृत छानबिन शुरू भइसकेको प्रशासनले जानकारी दिएको छ।