अत्यधिक गर्मी बढेपछि बेलौरीमा २ दिन विद्यालय बिदा

गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी मंगलबार र बुधबार नगरभित्र विद्यालय बिदा दिइएको नगरपालिकाले जनाएको छ।

कञ्चनपुर– अत्यधिक गर्मी बढेपछि बेलौरी नगरपालिकाले दुई दिन विद्यालय बिदा दिने निर्णय गरेको छ।

गर्मीका कारण शिक्षक, विद्यार्थी र कर्मचारीको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गरी मंगलबार र बुधबार नगरभित्र विद्यालय बिदा दिइएको हो। 

नगरप्रमुख पोतिलाल चौधरीका अनुसार बर्खे बिदाबाट मिलान हुनेगरी सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिइएको हो। गर्मी बढेसँगै सर्वसाधारणलाई बाह्य क्षेत्रमा हिँडडुल गर्नसमेत समस्या हुन थालेको छ।

दिउँसोका बेला बजार तथा राजमार्ग क्षेत्रमा सर्वसाधारणको आगमन कम हुँदै गएको छ । गर्मीका कारण रिंगटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा पाक्नेलगायत स्वास्थ्य समस्या लिएर अधिकांश बिरामी स्वास्थ्य संस्थामा पुग्ने गरेका स्वास्थ्यकर्मीले बताएका छन्।