सरकार गठनबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठनमा सहमति भएपछि बनेको गठबन्धन बैठकले सरकार गठन लगायत अबको रणनीतिका बारेमा छलफल गर्नेछ।

काठमाडौँ– सरकार गठनको विषयमा छलफल गर्न नेकपा एमाले–माओवादी गठबन्धनको बैठक बस्दैछ। 

अहिले बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा गठबन्धन दलको बैठक बस्न लागेको एमाले उपाध्यक्ष सुवास नेम्बाङले जानकारी दिए। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठनमा सहमति भएपछि बनेको गठबन्धनले सरकार गठनलगायत अबको रणनीतिका बारेमा छलफल गर्नेछ।

बैठकमा नवनियुक्त प्रधानमन्त्री दाहालसहित आज विस्तार हुने सरकारका विषयमा छलफल हुनेछ। उपाध्यक्ष नेम्बाङले आज सानो आकारको मन्त्रिपरिषद् गठन हुने जानकारी दिए। 

नेकपा एमालेले पनि दाहालको नेतृत्वमा सरकारमा मन्त्री पठाउने छ। कसको नेतृत्वमा सरकारमा मन्त्री पठाउने लगायतका विषयमा एमाले अध्यक्ष ओलीले आन्तरिक छलफल गरिरहेका छन्। 

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन भत्किएपछि आइतबार नेकपा एमालेको पहलमा बालकोटमा नयाँ गठबन्धन निर्माण भएको हो। 

हिजो नै दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेर राष्ट्रपति समक्ष प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरिएको थियो। साँझ नै राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई संविधानको धारा ७६ उपधारा २ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन। 

प्रधानमन्त्री दाहालले आज अपरान्ह ४ बजे सपथ ग्रहण गर्दै छन्।