सत्ता साझेदार दलबाट एक–एक जना समेटेर मन्त्रिपरिषद् गठन गर्ने प्रधानमन्त्रीको तयारी

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा सहभागी दलहरूबाट एक-एक जना मन्त्री सहभागी गराई मन्त्रिपरिषद् गठनको तयारी गरेका छन्।

काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ ग्रहणसँगै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन्। 

त्यसका लागि अहिले बिहान गठबन्धनमा सहभागी दलहरूको बैठक बोलाइएको छ। 

बिहान नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा प्रधानमन्त्री दाहालले आफूले आज साझेदार दलबाट एक–एक जना सहभागी गराएर सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेको जानकारी दिएका हुन्। 

माओवादी उपमहासचिव गिरिराजमणि पोखरेलले प्रधानमन्त्रीले आफूले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्न लागेको जानकारी दिएको बताए।

“साझेदार दलको बैठक बस्दै छ। सबै पार्टी तयार भएमा एक एकजना मन्त्री सहभागी गराएर मन्त्रिपरिषद् गठन हुन्छ”, दाहालको भनाइ उद्धृत गर्दै पोखरेलले भने। 

नव नियुक्त प्रधानमन्त्री दाहालले आज अपराह्न ४ बजे शपथ लिँदै छन्।