आप्रवासन छापाको विरोधमा प्रदर्शनबीच लस एन्जलसमा कर्फ्यु घोषणा

लस एन्जलसको जस्तै विरोध प्रदर्शनहरू न्युयोर्क, शिकागो, अस्टिन र वाशिंगटनडीसी लगायत अन्य प्रमुख अमेरिकी शहरहरूमा पनि बढ्दो रूपमा देखा पर्दैछन्।

काठमाडाैँ– लस एन्जलसका मेयर करेन बासले त्यहाँको डाउनटाउनमा ‘आपत्कालीन कर्फ्यु’ घोषणा गरेका छन्। सीएनएनका अनुसा लस एन्जलस शहरको केही भागमा आपतकालीन कर्फ्यु लागू भएपछि प्रहरीले प्रदर्शनकारीहरूलाई 'सामूहिक गिरफ्तारी' गर्न थालेको छ।

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले कागजातविहीन आप्रवासीहरूलाई लक्षित गरेको छापाको विरुद्धमा धेरै दिनको विरोध प्रदर्शन पछि कर्फ्यु लगाइएको हो। एक प्रेस सम्मेलनमा बासले कर्फ्यु स्थानीय समय मंगलबार साँझ ८ः०० देखि बुधबार बिहान ६ः०० बजे सम्म लागु हुने र केही दिनसम्म रहने अपेक्षा गरिएको बताए।

“म कर्फ्यु जारी राख्नका लागि भोलि निर्वाचित नेताहरू र कानून प्रवर्तन अधिकारीहरूसँग परामर्श गर्नेछु तर हामी निश्चित रूपमा यो धेरै दिनसम्म चल्ने अपेक्षा गर्दछौँ,” उनले भने।

आफ्नो तर्फबाट लस एन्जलस प्रहरी विभागका प्रमुख जिम म्याकडोनलले शहरभरि लगातार बढ्दो अशान्तिपछि जीवन र सम्पत्तिको रक्षा गर्न कर्फ्यु एक आवश्यक उपाय हो भनी जोड दिए।गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले कागजातविहीन आप्रवासनमाथि कारबाही गर्ने आफ्नो वाचा पूरा गर्न थालेको छ।

होमल्यान्ड सुरक्षा विभागले गत हप्ता लस एन्जलसमा आईसीई अपरेसनको परिणामस्वरूप दर्जनौँ विदेशी नागरिक पक्राउ परेको रिपोर्ट गरेको छ। आईसीई छापामाथि बढ्दो विरोधको प्रतिक्रियामा लस एन्जलसमा दुई हजार नेसनल गार्ड सेना तैनाथ गर्न आदेश दिएका ट्रम्पले मंगलबार शान्ति कायम नभएसम्म सेना लस एन्जलसमा रहने बताएका थिए।

लस एन्जलसको जस्तै विरोध प्रदर्शनहरू न्युयोर्क, शिकागो, अस्टिन र वाशिंगटन डीसीलगायत अन्य प्रमुख अमेरिकी शहरहरूमा बढ्दो रूपमा देखा पर्दैछन्। यस हप्ता र सप्ताहन्तमा थप प्रदर्शनहरूको योजना बनाइएको छ।