काठमाडाैँ महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत परियारसहित ७ जनाविरुद्ध भ्रष्टारचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडाैँ महानगरका पूर्वप्रमुख प्रशासन अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

काठमाडाैँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडाैँ महानगरका पूर्वप्रमुख प्रशासन अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

परियारसँगै महानगरका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, बसन्त आचार्य, नमराज ढकाल तथा इन्जिनियर जनार्दन गिरी र खरिद एकाईका सहायक निर्देशक उत्तम दाहालविरुद्ध मद्दा दायर गरिएको हो। परियार हाल सूचना तथा प्रसारण विभागमा महानिर्देशक छन्।

सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको आयोगका सहायक प्रवक्ता देविप्रसाद थपलियाले बताए। सातै जना प्रतिवादीमाथि काठमाडौँ महानगरपालिकाको सामाखुसी कोरिडोर अन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ढल निर्माण कार्यको ठेक्कामा भ्रष्टाचार गरेको आरोप छ।

बोलकबोलमा कम मूल्यको ठेक्का हाल्ने समानान्तर निर्माण प्रालीलाई अस्वीकृत गरी बढी मूल्यको ठेक्का हाल्ने कल्पवृक्ष-कोहिनुर जेभीसँग गरिएको सम्झाैतामा ती कर्मचारीहरूको बदनियत देखिएको आयोगले जनाएको छ। उनीहरूसँग ४ करोड ३१ लाख ७२ हजार दुई सय ८७ रुपैयाँ बिगो मागदाबीसमेत गरिएको छ।