मर्स्याङ्दी नदीमा मनसुन विपद् उद्धार अभ्यास

मनसुनलाई मध्यनजर गरी नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले विपद् उद्धार अभ्यासमा प्राथमिकता दिँदै आएको छ।

मनाङ– मनसुन शुरूआतसँगै हुनसक्ने विभिन्न विपद् उद्धार अभ्यास गरिएको छ। नेपाली सेना नयाँ भैरवी दल गुल्म र सशस्त्र प्रहरी बल नं ३२ गुल्म मनाङको संयुक्त आयोजनामा बुधबार नासो गाउँपालिका–१ तालगाउँस्थित मर्स्याङ्दी नदीमा मनसुन विपद् उद्धार अभ्यास गरिएको छ।

मनसुनलाई मध्यनजर गरी नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले विपद् उद्धार अभ्यासमा प्राथमिकता दिँदै आएको छ।

नेपाली सेना तथा सशस्त्र प्रहरीलगायत सुरक्षा निकायले विपदमा उद्धार गर्न सहयोग पुर्‍याउने उद्देश्यले ‘मनसुन विपद् उद्धार अभ्यास एवं डेमोस्ट्रेसन’ गरिएको नेपाली सेना नयाँ भैरवी दल गुल्मका गुल्मपति सेनानी रामबहादुर थापाले जानकारी दिए। उनका अनुसार मुनसुनमा घट्नसक्ने बाढी, पहिरो, डुबान एवं विपद् उद्धार अभ्यासले मद्दत पुग्नेछ।

जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी मात्रिका आचार्यले मनसुन सक्रिय हुने अवस्थामा विपद्का घटना हुने भएकाले उद्धारका अभ्यासले टेवा पुर्‍याउने बताए। उनले भने, “अभ्यासले जनचेतना जगाउन पनि सहयोग गर्ने गर्दछ।”

सशस्त्र प्रहरी बल नं ३२ गुल्मका प्रहरी नायब उपरीक्षक हिराबहादुर जिसीले भने, “अभ्यासले सुरक्षा निकायलाई अभ्यस्त बनाउनुका साथै स्थानीयलाई पनि सचेत गराउन मद्दत पुग्छ।” स्थानीय निकाय तथा सरोकारवाला निकायबीचको सहकार्यमा विपद्का घटनामा नेपाली सेना र सशस्त्र प्रहरी बलले प्रभावकारी काम गर्ने उनको भनाइ छ।

बाढी र डुबानमा परेकाको उद्धार गर्नेबारे अभ्यास गरेको हो। अभ्यासले वास्तविक उद्धारमा काम गर्न सहज हुने बताइएको छ। अभ्यासमा दक्ष जनशक्तिले गहिराइमा डुबेका पीडितको उद्धार गर्ने कला प्रदर्शन गरेका थिए।

नेपाली सेना र सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले आगलागी, सडक दुर्घटना, जल उत्पन्न प्रकोप, भूकम्पजस्ता विपद्जन्य घटनामा खोज तथा उद्धार गर्दै आएको छ।