अहमदाबादमा दुर्घटनाग्रस्त विमानमा कुन–कुन देशका थिए यात्रु?

लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। 

CISF/x

भारतको पश्चिमी शहर अहमदाबादमा बिहीबार लन्डनका लागि उडान भरेको यात्रु विमान दुर्घटनामा परेको छ।

विमानमा २४२ यात्रु सवार रहेको उड्डयन अधिकारीहरूले बताएका छन्। एयरलाइन्सले यसलाई ‘दुःखद दुर्घटना’ भनेको छ।

लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन्। 

भारतका उड्डयनमन्त्रीले अहमदाबादमा भएको दुर्घटनाबाट आफू ‘स्तब्ध र विक्षिप्त’ भएको बताए। एएफपीका पत्रकारले विमानस्थनमा कालो धुवाँको बाक्लो मुस्लो देखेको बताएका छन्। 

भारतको नागरिक उड्डयन प्राधिकरणले भनेको छ, “जहाजमा दुई पाइलट र १० चालक दलका सदस्यसहित २४२ व्यक्ति सवार थिए।” 

विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानाडाली यात्रु सवार रहेको एयर इन्डियाले जनाएको छ।

एयर इन्डियाको विमानले मेडे कल जारी गरेको र ‘उडानपछि तुरुन्तै दुर्घटनाग्रस्त भएको’ नागरिक उड्डयन महानिर्देशनालयले बताएको छ।

विमानस्थलको परिधिबाहिर विमान दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

भारतको गुजरात राज्यको मुख्य शहर अहमदाबादमा करिब ८० लाख मानिस बस्छन् र व्यस्त विमानस्थल खचाखच भरिएका आवासीय क्षेत्रहरूले घेरिएको छ ।

उड्डयनमन्त्री राम मोहन नायडू किन्जारापुले ‘सबै उड्डयन र आपत्कालीन प्रतिक्रिया एजेन्सीहरूलाई द्रुत र समन्वित कारबाही गर्न’ निर्देशन दिए। “उद्धार टोली परिचालन गरिएको छ र घटनास्थलमा चिकित्सा सहायता र राहत सहयोग पुर्‍याउन सबै प्रयास भइरहेको छ”, उनले भने, “मेरो विचार र प्रार्थना जहाजमा रहेका सबै र उनीहरूका परिवारसँग छ।”

“अहमदाबादबाट लन्डन ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१ आज एउटा दुःखद दुर्घटनामा परेको गहिरो दुःखका साथ म पुष्टि गर्दछु”, एयर इन्डियाका अध्यक्ष नटराजन चन्द्रशेखरनले भने, “हाम्रो विचार र गहिरो समवेदना यस विनाशकारी घटनाबाट प्रभावित सबैका परिवार र प्रियजनहरूसँग छ ।”

एउटा आपत्कालीन केन्द्र सक्रिय गरिएको र जानकारी खोज्ने परिवारहरूका लागि सहायता टोली गठन गरिएको उनले बताए।

भारतले घातक हवाई दुर्घटनाहरूको शृङ्खलाको सामना गरेको छ। यसमा सन् १९९६ को दुर्घटना पनि समावेश छ। त्यसबेला दुई जेट नयाँ दिल्लीमाथि हावामा ठोक्किएर करिब ३५० जनाको ज्यान गएको थियो।

सन् २०१० मा दक्षिण पश्चिम भारतको मंगलोर विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको जेट दुर्घटना भएर आगो लागेको थियो। उक्त दुर्घटनामा १६६ यात्रु र चालक दलका सदस्यमध्ये १५८ जनाको मृत्यु भएको थियो।

दशकौँअघि सन् १९८५ जुनमा मन्ट्रियलबाट लन्डन उडेको एयर इन्डिया बोइङ ७४७ आयरल्यान्डको समुद्रमा दुर्घटनाग्रस्त भएको थियो। विमानमा ३२९ जना यात्रु सवार थिए र कोही पनि बाँचेनन्।