मधेश प्रदेश सांसद सिंह अख्तियारको नियन्त्रणमा

अख्तियारको टोलीले बिहीबार मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ।

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ। सिंहलाई बिहीबार साँझ ६:०३ बजे काठमाडौँ महानगरपालिका वडा नं. १०, रत्नराज्य स्कुलनजिकबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सिंहले विभिन्न उपभोक्ता समिति गठन गरी ती समितिका खातामा जम्मा भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत निकाल्न लगाएको र उक्त रकम आफ्नो तथा श्रीमतीको बैंक खातामा जम्मा गरेको आरोप छ। साथै, निजी सचिव कायस्थको खातामा पनि सरकारी रकम जम्मा गरी दुरुपयोग गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो।

महोत्तरी निर्वाचन क्षेत्र नं. ४ (ख) बाट निर्वाचित सिंह महोत्तरीको मनराशिसवा नगरपालिका– ६ सरपल्लोका स्थायी बासिन्दा हुन् भने उनी हाल धनुषाको जनकपुर उपमहानगरपालिका–९ मा बस्दै आएका छन्। अख्तियारले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।