अहमदाबाद विमान दुर्घटना : २०४ वटा शव भटियो

अहमदाबादमा लन्डनका लागि उडेको भारतीय यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २०४ जनाको मृत्यु भएको छ।

भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा लन्डनका लागि उडेको एउटा भारतीय यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा २०४ जनाको मृत्यु भएको छ। विमानमा २३२ यात्रु र १० जना चालक दलका सदस्य गरी जम्मा २४२ जना सवार थिए।

बीबीसी हिन्दीले अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ जनाको मृत्यु भएको पुष्टि गरेको जनाएको छ। उनले बीबीसी गुजरातका पत्रकारसँग कुरा गर्दै ‘केही जीवित हुन सक्छन्, तर अहिलेसम्म हामीले २०४ जनाको शव निकालेका छौँ’ भनेका छन्। मलिकका अनुसार ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ र राहत तथा उद्धार कार्य जारी छ।

नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानले उडान भरेको केही समयमै 'मे डे' (खतराको सूचक) कल जारी गरेको थियो र विमानस्थलको परिधिबाहिर घना बस्तीमा खसेको थियो।

भारतको राष्ट्रिय सुरक्षा निकाय 'सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्स'ले सार्वजनिक गरेको तस्वीरमा विमानको पछाडिको भाग एउटा भवनमा ठोक्किएको देखिन्छ। विमान अहमदाबादको सिभिल अस्पताल र 'हर्स क्याम्प' नजिकैको क्षेत्रमा खसेको थियो।

एयर इन्डियाका अनुसार लन्डन ग्याटविकका लागि उडेको उक्त विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडेली यात्रु सवार थिए।

भारतीय राष्ट्रपति, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
विमान दुर्घटनाको भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायत उच्च अधिकारीले दुःख व्यक्त गरेका छन्। राष्ट्रपति द्रौपदी मुर्मूले गुजरातको अहमदाबादमा भएको यो दुर्घटनालाई ‘हृदय विदारक विपत्ति’ भन्दै गहिरो दुःख व्यक्त गरेकी छन्।

उनले एक्समा लेखेकी छन्, “अहमदाबादमा भएको विमान दुर्घटनाको खबरले म निकै दुःखी छु। यो हृदय विदारक विपत्ति हो।”

उनले दुर्घटनाबाट प्रभावित सबैमा समवेदना व्यक्त गर्दै यस अवर्णनीय दुःखको घडीमा राष्ट्र पीडित परिवारजन र उनीहरूका आफन्तको साथमा उभिनेछ भनी उल्लेख गरेकी छन्।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सामाजिक सञ्जाल एक्समार्फत यस घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले लेखेका छन्, “अहमदाबादको यो दुःखद घटनाले हामीलाई स्तब्ध तुल्याउनुका साथै दुःखी पनि बनाएको छ। यो शब्दमा व्यक्त नै गर्न नसकिने गरी हृदय विदारक घटना हो।” 

मोदीले प्रभावितप्रति आफ्नो सहानुभूति रहेको र राहत कार्यमा खटिएका मन्त्री तथा अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको बताएका छन्।

कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी र कांग्रेस सांसद तथा लोकसभामा प्रतिपक्षका नेता राहुल गान्धीले पनि एयर इन्डियाको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। 

सोनिया गान्धीले आफू यो दुर्घटनाबाट ‘स्तब्ध र दुःखी’ भएको बताउँदै यात्रु र चालक दलका सदस्यका परिवारप्रति समवेदना प्रकट गरेकी छन्। उनले ‘दृश्यहरू अत्यन्त्यै हृदय विदारक छन्, सिंगो देश शोकमा डुबेको छ र प्रार्थना गरिरहेको छ’ भनिन्।

राहुल गान्धीले कांग्रेस कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सहयोग गर्न आग्रह गरेका छन्। उनले यो ‘अविश्वसनीय कठिन’ घडीमा प्रशासनद्वारा तत्काल उद्धार र राहत प्रयास महत्त्वपूर्ण हुने बताएका छन्।

देशका अन्य दल, तिनीहरूका नेता, कलाकार तथा उद्यमीहरूले पनि सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै राहतका लागि कुनै कसर बाँकी नराख्न सरकारसँग आग्रह गरेका छन्।