अहमदाबाद विमान दुर्घटनामा परेका एक जनाको जीवितै उद्धार

अहमदाबादमा भएको विमान दुर्घटनामा परी घाइते भएका एक जना व्यक्तिलाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। 

भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा परी घाइते भएका एक जना व्यक्तिलाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। 

बिहीबार दिउँसो १:३० बजे लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही बेरमै नजिकैको चिकित्सकहरूको होस्टलमा ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो।

अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले एएनआईसँग फोनमा कुरा गर्दै भने, “प्रहरीले सिट ११ ए मा एक जना जीवित व्यक्ति फेला पारेका छन्। उहाँको अस्पतालमा उपचार भइरहेको छ।”

उनले मृतकको संख्याबारे अहिले नै यकिन भन्न नसकिने र आवासीय क्षेत्रमा विमान दुर्घटना भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताए।

दुर्घटनालगत्तै केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)ले उद्धार र राहत कार्यमा सहयोग गर्न करिब १५० सुरक्षाकर्मी परिचालन गरेको छ।

सीआरपीएफले जारी गरेको विज्ञप्तिमा र्‍यापिड एक्सन फोर्स (आरएएफ) को १०० बटालियनका जवानका साथै गान्धीनगरस्थित सीआरपीएफको 'ग्रुप सेन्टर' का जवानहरूलाई दुर्घटनास्थलमा पठाइएको उल्लेख छ।

यसैगरी, गुजरात सरकारले पनि गान्धीनगरका ९० जना कर्मचारी सम्मिलित तीन वटा राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) टोलीलाई उद्धार कार्यमा सहयोग गर्न परिचालन गरेको छ।

गृहमन्त्रीद्वारा घटनास्थलको अवलोकन
संघीय सरकारका गृहमन्त्री अमित शाहले अहमदाबादस्थित विमान दुर्घटनास्थलमा राहत तथा उद्धार कार्यको समीक्षा गर्न बिहीबार साँझ घटनास्थलको अवलोकन भ्रमण गरेका छन्।

उनको साथमा नागरिक उड्डयनमन्त्री राममोहन नायडु किन्जारापु, गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल र गृहमन्त्री हर्ष सङ्घवी पनि घटनास्थलमा पुगेका थिए।

एयर इन्डियाका अनुसार लन्डनको ग्याटविकका लागि उडेको उडान नम्बर एआई १७१ को उक्त विमानमा १६९ जना भारतीय, ५३ जना बेलायती, एक जना क्यानेडियाली र सात जना पोर्चुगाली नागरिक सवार थिए।