दुर्गा प्रसाईंसहित ७ जना डिल्लीबजार कारागार चलान

तीनकुने घटनामा दुर्गा प्रसाईंसहित सात जना पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका छन्।

काठमाडौँ – पूर्वराजाको समर्थनमा गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका उनीहरूलाई गए राति पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

यसैगरी, अदालतले सोही घटनामा संलग्न अन्य ३२ जनालाई भने १० हजारदेखि एक लाख रुपैयाँसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार अदालतको आदेशपछि दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, दण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र जीतबहादुर श्रेष्ठलाई डिल्लीबजार कारागार पठाइएको हो।

उक्त प्रदर्शनका क्रममा तीनकुनेस्थित एक घरमा आगजनी हुँदा समाचार संकलन गर्न गएका पत्रकार सुरेश रजकको ज्यान गएको थियो।

यस आदेशमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री एवं सांसद धवल शमशेर जबराबारे भने केही उल्लेख गरिएको छैन।