सभामुख देवराज घिमिरेले प्रतिपक्षी दलको नाराबाजी र अवरोधबीच प्रतिनिधिसभाको बैठक अगाडि बढाउँदै गृहमन्त्री रमेश लेखकलाई बोल्नका लागि समय दिएका थिए।
काठमाडौँ– प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नाराबाजी र अवरोधबीच शुक्रबार प्रतिनिधिसभाको बैठक अगाडि बढ्यो। सभामुख देवराज घिमिरेले प्रतिपक्षी सांसदको विरोधबीच शुक्रबार सदनको कार्यसूचीलाई निरन्तरता दिएका हुन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग लगायतका माग राखेर रास्वपा र राप्रपाले संसद्मा नाराबाजी गरेका थिए। यद्यपि, सत्तारुढ दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संसद्को गतिरोध अन्त्यका लागि दुईबुँदे सहमति गरेका थिए। तर रास्वपा र राप्रपाले यो सहमतिलाई अस्वीकार गर्दै आफ्नो विरोध जारी राखेका छन्।
राप्रपाका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले माओवादी केन्द्र र एमालेबीच भएको सहमतिलाई ‘लुटतन्त्रको रक्षाका लागि’ भएको आरोप लगाए। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले ‘दृढतापूर्वक आत्मासमर्पण’ गरेको र ‘बहादुरका साथ पछाडि हटेको’ भन्दै व्यंग्य गरे।
लिङ्देनले रोजगारी नपाएर विदेश जाने युवाको भावनामाथि खेलवाड गर्दै भिजिट भिसा प्रकरणबाट दैनिक ५० लाख रुपैयाँसम्म असुलिएको विभिन्न तथ्य सार्वजनिक भएको औँल्याए। लिङ्देनले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिएर निष्पक्ष अनुसन्धानलाई सघाउनुपर्ने आफ्नो माग दोहोर्याए।
यसअघि सभामुख घिमिरेले प्रतिपक्षको नाराबाजीकै बीच नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। पाण्डेले बोल्दै गर्दा रास्वपा र राप्रपाका सांसदले टेबुल ठोकेर विरोध जनाए पनि पाण्डेले आफ्ना कुरा राखे।
लगत्तै, राप्रपाका अध्यक्ष लिङ्देनलाई बोल्न समय दिइएको थियो। लिङ्देनले आफ्नो भनाइ राख्दा भने रास्वपाले अवरोध गरेन। तर, रास्वपाका सांसद मनीष झाको पालो आएसँगै सदनमा फेरि 'गृहमन्त्री राजीनामा दे' भन्दै चर्को नाराबाजी शुरू भयो।
सांसद झाले गृहमन्त्रीको नियतमाथि नै शंका व्यक्त गर्दै प्रश्न गरे, “आफ्नै मन्त्रालयमा के भइरहेको छ भन्ने थाहा छैन भने ऊ केको मन्त्री? मानव तस्करीको बारेमा हामीले बोल्नै नपाउने हो? नियतमा शंका छ, हाम्रो आन्दोलन जारी छ, गृहमन्त्रीले राजीनामा दिनैपर्छ।”
सांसदको निरन्तर नाराबाजी र अवरोधकै बीच गृहमन्त्री रमेश लेखक रोस्ट्रममा गएर सम्बोधन गरे। उनले भिजिट भिसा प्रकरणमा आफूलाई जोडेर आएका समाचारमा कुनै सत्यता नभएको दाबी गरे। उनले आफ्नाविरुद्ध नियोजित, षड्यन्त्रपूर्वक ढंगले र राजनीतिक रूपले आक्रमण गर्ने प्रयत्न भएको बताए। “मेराविरुद्ध नियोजित र षड्यन्त्रपूर्वक ढंगले राजनीतिक रुपले आक्रमण गर्ने प्रयत्न भएको छ। जसलाई सम्मानित सदनबाट खेद व्यक्त गर्न चाहन्छु, आग्रह गर्न चाहन्छु,” उनले भने।
गृहमन्त्री लेखकले भिजिट भिसासम्बन्धी विषयमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईलाई सोधपुछका लागि आयोगबाट बोलाएको कुरा आफूले सञ्चारमाध्यमबाट मात्र थाहा पाएको दाबी गरे। उनले यस प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारे।
“कार्यालय प्रमुख, सहसचिव तीर्थराज भट्टराईलाई भिजिट भिसा सम्बन्धित विषयमा सोधपुछका लागि आयोगबाट बोलाएको सञ्चारमाध्यमबाट थाहा पाएको हुँ। यसमा मेरो पनि संलग्नता छ भनेर सामाजिक सञ्जालमा आएको हो। ती अभिव्यक्तिमा कुनै सत्यता छैन। उक्त कार्यमा मेरो कुनै संलग्नता छैन र हुन सक्दैन,” उनले भने।
गृहमन्त्री लेखकको सम्बोधनपछि सभामुख घिमिरेले बैठकका बाँकी कार्यसूची हटाउँदै असार १ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित भएको घोषणा गरेका गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
