बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ घाइते

दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

बागलुङ– ढोरपाटन नगरपालिका–५ अस्तुमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

बुर्तिवाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु.प्र. ०१००१ च १७७५ नम्बरको जिप शुक्रबार साँझ ५ः४५ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए।

अहिले प्रहरी, स्थानीय र जनप्रतिनिधिको सक्रियतामा उद्धार भइरहेको उनको भनाइ छ। जिप सडकदेखि करिब ६० मिटर तल खसेको थापाले बताए।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतका अनुसार ६ जना घाइतेको उद्धार गरी उपचारका लागि बुर्तिवाङ प्रादेशिक अस्पताल पठाइएको छ भने दुई वटा शव संकलन भइरहेको छ।

“हामी घटनास्थल आइपुगेका छौँ, अहिले घाइतेको उद्धार गरी प्रहरी र नगरपालिकाको गाडीमा अस्पताल पठाइरहेका छौँ, दुई जनाको मृत्यु भएको छ, शव संकलनको प्रयास भइरहेको छ,” उपप्रमुख कायतले भने।