अत्यधिक चिसो र आँधीका कारण अमेरिका र क्यानडामा ३८ जनाको मृत्यु

अमेरिकाको मोन्टाना राज्यको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ भने बफेलो शहरमा प्रतिघण्टा पाँचदेखि ७ सेन्टिमिटरसम्म हिउँ परेकाे छ।

तस्वीर: एपी

अमेरिका र क्यानडामा अत्यधिक चिसो र आँधीका कारण ३८ जनाको मृत्यु भएको छ। अमेरिकामा मात्रै ३४ जनाको ज्यान गुमाएका हुन्। अमेरिकाका भर्मोन्ट, ओहायो, मिसोरी, कान्सस, विन्सकन्सिन र कोलोराडोमा आँधीसँग सम्बन्धित मृत्यु भएका छन्।

बाँकी ४ जनाको क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तको मेरिट शहरमा सडकमा जमेको बरफमा चिप्लिएर बस भएको दुर्घटनामा मृत्यु भएको बीबीसीले जनाएको छ। अत्यधिक चिसो बढेको र जाडोयामको आँधीहुरीका कारण त्यहाँको जनजीवन कष्टकर बनेको छ।

हाल अप्रत्याशित आँधी क्यानडादेखि दक्षिणतर्फ बढेको बताइएको छ। आँधी थप केहीदिन जारी रहने भएकाले अत्यावश्यक कामबाहेकका सबै भ्रमण रद्द गर्न मौसमविद्हरूले आग्रह गरेका छन्।

मौसम खराबीका कारण अमेरिकामा हजारौँ उडानहरू रद्द गरिएका छन्।  हावाहुरीका कारण प्रभावित हुनसक्ने भन्दै अमेरिकामा साढे पाँच करोड मानिसलाई सतर्क रहन भनिएको छ।

केहीदिनदेखि जारी आँधीले स्थानीय विद्युत आपूर्तिमा समस्या देखिएको छ। आइतबार मात्रै २ लाखभन्दा बढी सेवाग्राहीको विद्युत आपूर्ति ठप्प भएको एसोसिएट प्रेसले उल्लेख गरेको छ। 

यता, अमेरिका न्यूयोर्क राज्यको बफेलो शहरमा चिसो र आँधीको बढी प्रभाव परेको बीबीसीले उल्लेख गरेको छ। त्यहाँ प्रतिघण्टा पाँचदेखि ७ सेन्टिमिटरसम्म हिउँ परिरहेको अल जजिराले उल्लेख गरेको छ।

न्यूयोर्कका गभर्नर केथी होचलले बफेलोमा इतिहासकै विनाशकारी आँधी आएको बताइन्। उनले भनिन्, “यहाँ युद्ध भूमिजस्तो दृश्य छ। सडक किनारमा गाडीहरू राखिएका छन् चिसोले मानिसहरू अतालिएका छन्। स्थानीयबासीले ज्यानै जोखिममा पर्ने खतरनाक अवस्था भोगिरहेका छन्। स्थानीयलाई घरभित्रै बस्न आग्रह गर्न चाहन्छु।”

अमेरिकाको मोन्टाना राज्य सबैभन्दा बढी चिसो तापक्रम मापन गरिएको छ। त्यहाँको तापक्रम माइनस ५० डिग्री सेल्सियसमा झरेको छ। यस्तै, फ्लोरिडाको तापक्रम अत्यन्तै घटेको छ भने हिउँ पनि अत्यधिक परेको छ।

यता, क्यानडाको किबेक र अन्टारियो राज्यमा आँधीको बढी प्रभाव छ। आइतबार किबेक १ लाख २० हजार वटा घरमा विद्युत आपूर्ति ठप्प भएको स्थानीय अधिकारीहरूले बताए।

-एजेन्सीको सहयोगमा