अहमदाबाद विमान दुर्घटना: ब्ल्याक बक्स भेटियो, डीएनए परीक्षणपछि मात्रै मृतकको संख्या घोषणा गरिने

एयर इन्डियाको विमान दुर्घटनामा चालक दलका सदस्य, यात्रुका साथै २४ जना गैरयात्रीको पनि मृत्यु भएको छ। डीएनए परीक्षणपछि मात्रै मृतकको औपचारिक संख्या घोषणा गरिने प्रशासनले जनाएको छ।

भारतको अहमदाबादमा बिहीबार दुर्घटनामा परेको एयर इन्डियाको बोइङ ७८७-८ ड्रिमलाइनर विमानको ब्ल्याक बक्स रेकर्डर फेला परेको छ। 

अहमदाबादबाट बेलायतको लन्डनका लागि उडान भरेको यस विमानमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए। दुर्घटनामा अहिलेसम्म २६५ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

यसमा विमानमा सवार यात्रु तथा चालक दलका सदस्यका साथै दुर्घटनास्थलमा रहेका कम्तीमा २४ जना गैरयात्रीको पनि मृत्यु भएको प्रहरी उपप्रमुख कानन देसाईले जानकारी दिए। मृतकको औपचारिक संख्या डीएनए परीक्षणपछि मात्र घोषणा गरिने प्रशासनले जनाएको छ।

चमत्कारिक रूपमा दुर्घटनाबाट बाँच्न सफल भएका बेलायती नागरिक विश्वासकुमार रमेशले अस्पतालको शैयाबाट राष्ट्रिय प्रसारक डीडी न्यूजसँग कुरा गर्दै भने, “सुरुमा मलाई पनि म मर्न लागेको जस्तो लागेको थियो, तर पछि मैले आँखा खोलेँ र थाहा पाएँ कि म अझै जीवित छु।”

भारतका नागरिक उड्डयनमन्त्री राम मोहन नायडू किन्जारापुले दुर्घटनाग्रस्त एयर इन्डिया विमानको उडान डेटा रेकर्डर र ब्ल्याक बक्स फेला परेको पुष्टि गरेका छन्। उनले ब्ल्याक बक्स अहमदाबादको दुर्घटनास्थलबाट भारतको विमान दुर्घटना अनुसन्धान ब्युरोले २८ घण्टाभित्र बरामद गरेको बताए। “यो अनुसन्धानमा एक महत्त्वपूर्ण कदम हो,” उनले भने, “यसले घटनाको अनुसन्धानमा उल्लेखनीय रूपमा मद्दत गर्नेछ।”

विमानमा सामान्यतया सानो तर कडा इलेक्ट्रोनिक डेटा रेकर्डरका रूपमा दुई वटा ब्ल्याक बक्स हुन्छन्। एउटाले उडान डेटा रेकर्ड गर्दछ, जस्तै उचाइ र गति। अर्कोले ककपिटबाट आवाज रेकर्ड गर्दछ। यसले अनुसन्धानकर्तालाई पाइलटले के भनिरहेका छन् सुन्न र कुनै पनि असामान्य आवाज पत्ता लगाउन मद्दत गर्दछ। यी दुई ब्ल्याक बक्सको विश्लेषणले दुर्घटना हुनुअघि विमानमा के भएको थियो भन्नेबारेमा विस्तृत जानकारी प्रदान गर्नेछ।