बैंकिङ क्षेत्रको सुधारका लागि सुझाव पेस गर्न तीन सदस्यीय कार्यदल गठन

कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील, जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ।

काठमाडौँ– नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्न कार्यदल गठन गरेको छ। नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो।

कार्यदलमा पूर्वबैंकर भुवनकुमार दहाल सदस्य र राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकसदस्य सचिव छन्। कार्यदलको समयावधि एक महिनाको रहनेछ।

कार्यदललाई बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरिवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकासका सम्बन्धमा सुझाव दिन कार्यादेश दिइएको छ।

आर्थिक गतिविधि पूर्णचलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका , ग्रामीण क्षेत्रमा कर्जा प्रवाहलाई प्रभावकारी बनाउन चाल्नुपर्ने कदम, बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्याको पहिचान तथा समाधानको सुझाव दिन भनिएको छ।

त्यस्तै, नेपाललाई ग्रे लिष्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका र पुँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिकाका सम्बन्धमासमेत सुझाव दिन भनिएको छ।