नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर तालिम दिएइको छ।
खोटाङ– हलेसी तुवाचुङ नगरपालिकाले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई कोदोको बिस्कुट उत्पादन, ‘ब्रान्डिङ’ र ‘प्याकेजिङ’सम्बन्धी तालिम दिएको छ।
नगरपालिकाको रैथाने बाली कोदोखेतीलाई प्रवर्द्धन गर्दै स्थानीय युवा पुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले कक्षा–१२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई सहभागी गराएर नगरपालिकाले तालिम दिएको हो।
‘कोदोको परिकार, स्वास्थ्यको सुरक्षा र आम्दानीको आधार’ भन्ने नारासहित वडा नं ७ महादेवस्थानस्थित वडा कार्यालयमा आयोजना गरिएको सात दिने तालिम शुक्रबार औपचारिक रूपमा समापन गरिएको छ। एकजना स्थानीय महिला उद्यमी तथा १२ जना विद्यार्थीको सहभागिता रहेको तालिममा सहभागी प्रशिक्षार्थीले उत्पादन गरेका कोदोको बिस्कुट, कुकिज, निम्की, पाउरोटी, मफिन र दुनोट प्याकेजिङ गरेर समापन कार्यक्रममा प्रदर्शन गरिएको थियो।
तालिममा सहभागीले बनाएका कोदोका परिकार त्रिधार्मिकस्थल हलेसी बजारमा सञ्चालन गरिएको कोसेली घरमा राखेर बिक्री गर्ने र हलेसी आउने पाहुनालाई उपहारस्वरूप प्रदान गर्ने योजनाका साथ तालिमको आयोजना गरिएको हलेसी तुवाचुङ नगरपालिकाका–७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए। “त्रिधार्मिकस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीको रूपमा लैजानका लागि यहाँको उत्पादन खोज्ने गरेका छन्। कोदोको परिकारलाई यहाँको प्रमुख उत्पादनका रूपमा ब्रान्डिङ गर्नेगरी तालिमको आयोजना गरिएको हो,” उनले भने, “तालिममा सहभागीले व्यावसायिक रूपमा उत्पादन गरेका कोदोका परिकार नगरपालिकाको तर्फबाट खरिद गरिदिन्छौँ। खरिद गरिएको परिकार कोसेली घरमा राखेर उपहारस्वरूप पाहुनाहरूलाई वितरण गर्ने योजना बनाएका छौँ।”
नगरपालिकाको कृषि शाखाद्वारा सञ्चालित तालिमको सहजीकरण काठमाडौँबाट झिकाइएको खाद्य प्राविधिक आर्जन गौतमले गरेका थिए। दक्ष प्रविधिको सहजीकरणमा कोदोको परिकार बनाउने तालिम निःशुल्क लिन पाएपछि सहभागी व्यावसायिक बन्न उत्साहित बनेको नगरपालिकाले जनाएको छ।
रैथाने बाली ‘कोदो’को बजार सम्भावनालाई आत्मसात् गर्दै स्थानीय युवाका लागि सीपमूलक उद्यमशीलता प्रति आकर्षित गर्नका लागि तालिमको आयोजना गरिएको नगरप्रमुख विमला राईले बताइन्। “तालिममा सहभागीले पौष्टिकता, परम्परा र उद्यमशीलताको पाठ एकैसाथ सिक्न पाएका छन्। उनीहरूलाई तालिमले केवल सीपमात्र होइन, आत्मविश्वास र प्रेरणा पनि थपिदिएको छ,” उनले भनिन्, “कोदोको पोषण, स्वाद र प्रयोगशैलीको विविधता उजागर गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको थियो। तालिमले रैथाने बाली कोदोको उत्पादन तथा मूल्य वृद्धि र स्थानीय उद्यमशीलतालाई थप टेवा पुर्याउने अपेक्षा गरिएको छ।”
तालिममा सहभागीलाई कोदोको परम्परागत प्रयोगलाई आधुनिक परिकारमा रूपान्तरण गर्दै गुणस्तरीय परिकार उत्पादन, ब्रान्डिङ, प्याकेजिङ तथा बजारीकरणका पक्षमा पनि व्यवहारिक जानकारी र अभ्यास गराइएको नगरपालिकाले जनाएको छ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाले कोदोमा पाइने प्रोटिन, क्याल्सियम, आइरन तथा एन्टीअक्सिडेन्टजस्ता पोषकतत्वलाई ध्यानमा राखेर कोदो बालीलाई पोषण सुरक्षा र स्थानीय रोजगारीसँग जोड्ने प्रयास गरेको हो।
तालिम समापन अवसरमा प्रशिक्षार्थीले उत्पादन गरेका सबै परिकारहरू कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीहरूले अवलोकन गर्नुका साथै स्वाद परीक्षण गरेका छन्। तालिममा सहभागी विद्यार्थीले उत्पादन गरेका कोदोको विभिन्न प्रकारका परिकार गुणस्तरीय र स्वादिष्ट रहेको समापन कार्यक्रमका सहभागीले बताएका छन्।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा रैथाने बाली कोदो उत्पादन बढी हुने भएकाले पनि त्यसलाई प्रवर्द्धन गर्दै कोदोको विभिन्न प्रकारका परिकार उत्पादन गरेर बजारीकरण गर्न तालिमको आयोजना गरिएको जनाइएको छ।
तालिमले विशेषगरी युवालाई सीपमार्फत सशक्त बनाउने, महिलालाई आम्दानीको अवसर दिने र रैथाने कृषि बाली उत्पादनको संरक्षण तथा संवर्द्धनमा उल्लेखनीय योगदान पुर्याउने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
