किन कठिन छ नेपालमा मौसम पूर्वानुमान?

नेपालको उच्च पहाडी तथा हिमाली भू–भागहरूबाट नियमित र पर्याप्त मात्रामा तथ्यांक संकलन गर्न नसक्दा मौसम पूर्वानुमान थप जटिल बनेको वरिष्ठ मौसमविद् शान्ति कँडेलको भनाइ छ।

काठमाडौँ– नेपालको भौगोलिक विविधता, सीमित स्रोतसाधन र आवश्यक जनशक्तिको कमीले गर्दा मौसम पूर्वानुमान गर्न निकै चुनौतीपूर्ण रहेको जल तथा मौसम विभागकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताएकी छन्। उनले मौसम पूर्वानुमानका लागि धेरै मिहिनेत गरिए पनि कहिलेकाहीँ पूर्वानुमान नमिल्नुका विभिन्न कारणहरू रहेको स्पष्ट पारिन्।

वरिष्ठ मौसमविद् कँडेलका अनुसार, नेपालको अद्वितीय भौगोलिक विविधता नै मौसम पूर्वानुमानको जटिलताको प्रमुख कारण हो।

“जति धेरै भौगोलिक विविधता हुन्छ, त्यति नै मौसम पूर्वानुमान पनि चुनौतीपूर्ण हुन्छ,” उनले भनिन्। वायुमण्डलमा रहेका विभिन्न तत्त्वहरूको जटिल उपस्थितिले गर्दा आज भएको सानो परिवर्तनले पनि भोलि मौसममा ठूलो असर पार्न सक्ने उनले उल्लेख गरिन्।

विश्वव्यापी रूपमा मौसम पूर्वानुमानको प्रविधिले फड्को मारिरहँदा नेपालमा भने अत्याधुनिक प्रविधि भित्र्याउन नसकिएको कँडेलले स्विकारिन्। भौतिक र प्राविधिक स्रोतसाधनको कमीका कारण पनि मौसम पूर्वानुमानमा कठिनाइ भइरहेको उनको भनाइ छ।

“नियमित रूपमा मौसम पूर्वानुमान गर्न आवश्यक जनशक्तिका साथै, भौतिक र प्राविधिक स्रोतसाधनको कमीले गर्दा पनि मौसम पूर्वानुमान गर्न निकै कठिन भइरहेको छ,” उनले थपिन्।

मौसम पूर्वानुमान नमिल्नुको अर्को कारण तथ्यांकको सीमितता हो। नेपालको उच्च पहाडी तथा हिमाली भू–भागहरूबाट नियमित र पर्याप्त मात्रामा तथ्यांक संकलन गर्न नसक्दा मौसम पूर्वानुमान थप जटिल बनेको उनले बताइन्।

हाल नेपालसहित विश्वव्यापी रूपमा गणितीय मौसम पूर्वानुमान प्रणालीको प्रयोग भइरहेको भए पनि, नेपालको भूगोल सुहाउँदो अध्ययन–अनुसन्धान र आवश्यक तथ्यांक प्रयोग गर्न नसक्दा मौसम पूर्वानुमान थप जटिल बनेको कँडेलले स्पष्ट पारिन्।

चुनौतीका बाबजुद पनि, जल तथा मौसम विभागले मौसम पूर्वानुमानलाई विश्वसनीय र भरपर्दो बनाउँदै लगिरहेको वरिष्ठ मौसमविद् कँडेलले जानकारी गराइन्।