नागढुंगामा माइक्रोबस दुर्घटना हुँदा २० जना घाइते, २ को अवस्था गम्भीर

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो।

काठमाडौँ– काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुंगा नजिकै घुमाउने पसल अगाडि शनिबार अपराह्न माइक्रोबस दुर्घटना हुँदा २० जना घाइते भएका छन्। घाइतेको बलम्बुस्थित सशस्त्र प्रहरी बल, नेपाल अस्पतालमा उपचार भइरहेको छ।

काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा३ख ८३२९ नंको माइक्रोबस अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो। उक्त माइक्रोबसमा चालक तथा सहचालकसहित २० जना सवार हुन्।

सो घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं १८ नीलबाराही गण काठमाडौँबाट सशस्त्र प्रहरी निरीक्षक बिर्खबहादुर शाहीको कमान्डमा खटिएको सुरक्षा फौजले उनीहरूको उद्धार गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

घाइतेमध्ये दुई जनाको अवस्था भने गम्भीर रहेको सशस्त्र प्रहरीले जनाएको छ। दुर्घटनामा चार बालबालिका, पाँच महिला र ११ पुरुष घाइते भएका छन्।