पाँचथरमा बेलिब्रिज भाँचिँदा ६ कामदार घाइते, ४ को अवस्था गम्भीर

हेवा खोलामा निर्माणाधीन बेलिब्रिज शनिबार साँझ हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो।

पाँचथर– मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा ६ जना कामदार घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

शनिबार साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएर खोलामा झरेको हो। करिब ७० मिटर लामो मोडुलार पुल भाँचिँदा निर्माणमा खटिएका ६ जना कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा बाराको जीतपुर सिमरा उपमहानगरपालिका– १२ का रूपलाल चौधरी, राजन चौधरी, राकेश चौधरी र भुलेश्वर चौधरी गम्भीर घाइते भएका छन्। प्रकाश चौधरी र अभिषेक चौधरी घाइते भएका छन्।

घाइतेहरूको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बुढाथोकीले जानकारी दिए। लोड थाम्न नसकेर बेलिब्रिज भाँचिएको स्थानीयले बताएका छन्।