अस्ट्रेलियालाई हराउँदै दक्षिण अफ्रिका वर्ल्ड टेस्ट च्याम्पियन

अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले उपाधि जितेको हो। दक्षिण अफ्रिका न्युजिल्यान्ड र अस्ट्रेलियापछि वर्ल्ड टेस्ट च्याम्पियन बन्ने तेस्रो टोली बनेको छ।

काठमाडौँ–  वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि दक्षिण अफ्रिकाले जितेको छ। लन्डनस्थित लर्ड्स क्रिकेट मैदानमा भएको फाइनलमा अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका च्याम्पियन बनेको हो।

लन्डनस्थित लर्ड्स क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले जितका लागि दोस्रो इनिङमा २८२ रनको लक्ष्य पाएको थियो। चौथो दिन २ विकेटको नोक्सानीमा २१३ बाट ब्याटिङ शुरू गरेको टोलीलाई जितका लागि ६९ रन आवश्यक थियो। 

अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले दिनको तेस्रो ओभरमै विपक्षी कप्तान टेम्बा बावुमालाई ६६ रनमा क्याच आउट गराए। त्यसपछि ४१ रन आवश्यक रहेको बेला मिसेल स्टार्कले ट्रिस्टन स्टब्सलाई बोल्ड गरेर आशा जनाएका थिए। 

तर ऐडन मार्करामले १३६ रनको उत्कृष्ट इनिङ खेले र दक्षिण अफ्रिकालाई जितको नजिक पुर्‍याए। डेभिड बेडिङह्याम र काइल भेरेनले बाँकी रन पूरा गर्दै दक्षिण अफ्रिकालाई जित दिलाए। 

यससँगै दक्षिण अफ्रिका न्युजिल्यान्ड र अस्ट्रेलियापछि वर्ल्ड टेस्ट च्याम्पियन बन्ने तेस्रो टोली बनेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आईसीसी उपाधि जितेको हो।