पाँचथरमा बेलिबृज भाँचिँदा घाइते भएका ३ मजदुरको मृत्यु

निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिँदा निर्माणमा खटिएका ६ जना कामदार घाइते भएका थिए। 

काठमाडौँ– मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा घाइते भएकामध्ये तीन जनाको मृत्यु भएको छ। 

बाराको सिमरा उपमहानगरपालिकाका २२ वर्षीय रूपलाल चौधरी, २७ वर्षीय राजन चौधरी र २२ वर्षीय प्रकाश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। 

दुर्घटनापछि घाइते उनीहरूलाई उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल पठाइएको थियो। 

शनिबार साँझ निर्माणाधीन बेलिब्रिज हिलिहाङ गाउँपालिकातर्फ टेकाउने क्रममा भाँचिएको थियो। करिब ७० मिटर लामो मोडुलार पुल भाँचिँदा निर्माणमा खटिएका ६ जना कामदार घाइते भएका थिए। 

अरू घाइतेको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ। फिदिम नगरपालिकातर्फ राखिएको बेसदेखि ठेल्दै पारिपट्टि हिलिहाङ गाउँपालिकामा जग टेकाएको केहिबेरमै बेलिब्रिज खसेको थियो।