हृदयघातले विदेशमा लिँदैछ नेपाली श्रमिकको ज्यान

खाडी मुलुकमा अत्यधिक गर्मी हुने र श्रमिकले पर्याप्त पानी सेवन नगर्ने, अस्वस्थ जीवनशैली अपनाउने, धुम्रपान तथा मध्यपान गर्ने तथा दीर्घरोगजस्ता कारण वैदेशिक रोजगारीमा जानेलाई हृदयघातको जोखिम हुन्छ।

काठमाडौँ– कतारको अलमुनियम कम्पनीमा कार्यरत पश्चिम नवलपरासीका सुशील श्रेष्ठ (३७) काम सकेर २०८० जेठ ७ गते राति कम्पनीको क्याम्प फर्किए। परिवारसँग केहीबेर कुराकानी गरे। उच्च रक्तचापको नियमति औषधि खाएर सुते। तर अर्काेदिन बिहान उठेनन्।

अबेरसम्म नउठेपछि नजिकैको क्याम्पमा बस्ने नेपालीहरू हेर्न गए। उनीहरूले नै सुशीललाई अस्पताल पुर्‍याए। तर त्यतिञ्जेलमा उनको मृत्यु भइसकेको चिकित्सकले घोषणा गरे। उनी तीन वर्षअघि मात्र वैदेशिक रोजगारीमा गएका थिए।

सल्यानको त्रिवेणीका गाउँपालिकाका जीवन रोकाय (३९) दुई वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी अरबिया पुगेका थिए। उनले २०८० जेठ २२ गते साथीभाइसँग गफिँदै मध्यरातसम्म मध्यपान गरे। त्यसपछि निदाए।

उनीको काम सडक सरसफाइको थियो। अर्काे दिन बिहानै काममा निस्किए। उनी मधुमेहका बिरामी थिए। करिब एक महिनासम्म राम्ररी सुतेका थिएनन्। त्यसदिन मध्याह्नको तापक्रम केही उच्च थियो।

उनी काममा खटिएको पाँच घण्टा पुग्नै लागेको थियो, सडकमै ढले। उनलाई कम्पनीले अस्पताल पुर्‍यायो, तर जीवित थिएनन्। कम्पनीले अस्पताललाई उधृत गर्दै मृतकको परिवारलाई दिएको जानकारीअनुसार उनलाई मृटुको धड्कनको गडबडी अर्थात्, कार्डियाक अरेस्ट भएको थियो। 

साढे दुई वर्षअघि साउदी अरबिया पुगेका कञ्चनपुरका रत्नबहादुर शाही ‘सेक्युरिटी गार्ड’ थिए। उनी दैनिक १८ घण्टाको ‘डिउटी’ गर्थे। २०७९ फागुनमा डिउटीमै थिए। बिहान ४ बजे एक्कासिले ढले।

बिहान सबेरै भएकाले कम्पनीले ढिलो मात्र उनी ढलेको थाहा पायोे। उनलाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको घोषणा गरे। ‘डेर्थ सर्टिफिकेट’मा मुटुको चाल रोकिँदा (कार्डियाक अरेस्ट) उनको मृत्यु भएको उल्लेख छ। हृदयघात मुटुको धमनीमा रगत जम्दा हुन्छ भने, कार्डियाक अरेस्ट मुटुको धड्कनमा आउने गडबढीले हुन्छ।

उदयपुरका हरि रावल वैदेशिक रोजगारीका लागि २०७७ पुसमा कतार पुगेका थिए। कामबाट फर्किएर २०७८ साउन १३ गते राति सुतेका उनी अबेरसम्म उठेनन्। सँगै बस्ने नेपालीहरू हेर्न जाँदा अचेत थिए।

त्यहाँ बस्ने नेपालीले नै उनलाई अस्पताल पुर्‍याए। तर उनको मृत्यु भइसकेको थियो। हृदयघातको कारणले उनको मृत्यु भएको चिकित्सकले बताएका थिए।

वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकमध्ये प्रत्येक दिन औसत चार जनाको मृत्यु हुने वैदेशिक रोजगार बोर्डको तथ्यांक छ। मृत्यु हुने थुप्रै कारणमध्ये हृदयघात र कार्डियाक अरेस्ट पनि एक हो।

बोर्डका अनुसार विगत पाँच वर्षमा पाँच हजार ९७७ श्रमिकको विदेशमा मृत्यु भएको थियो। यीमध्ये ६०१ जनाको मृत्यु हृदयघातका कारण भएको हो। बोर्डका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ११९, २०७७/७८ मा १०४, २०७८/७९ मा ९७ जनाको मृत्यु भएको थियो। त्यस्तै, आर्थिक वर्ष २०८०/८१ मा ११४ र २०८०/८१ मा ११४ जनाको ज्यान गएको छ।

त्यसबाहेक आत्महत्या, कार्यस्थलमा हुने दुर्घटना, सवारी दुर्घटना र प्राकृतिक कारण पनि श्रमिकको मृत्यु हुन्छ। बोर्डका सूचना अधिकारी एवं निर्देशक गुरुदत्त सुवेदी विदेश जाने श्रमिकमा हृदयघात डरलाग्दो रूपमा देखिइरहेको बताउँछन्।

सुवेदीका अनुसार सबैभन्दा धेरै हृदयघातले ज्यान गुमाउनेमा खाडी राष्ट्र गएका श्रमिक छन्। पहिलोमा युनाइटेड अरब इमरेट्स (यूएई), दोस्रोमा कतार, मलेसियामा गएका श्रमिकलाई यो समस्या धेरै देखिएको छ। साउदी अरबिया, कुवेत, बहराइन गएका कतिपय श्रमिकलाइ पनि हृदयघात हुने गरेको छ।

मुटुरोग विशेषज्ञहरू खाडी मुलुकमा कार्यरत नेपालीमा हृदयाघातको जोखिम बढ्नुको प्रमुख कारण अत्यधिक गर्मी भएको बताउँछन्। गर्मीमा काम गर्नुपर्ने, तर पर्याप्त पानी सेवन नगर्ने हुँदा समस्या हुने मुटु रोग विशेषज्ञ डा. कुञ्जाङ शेर्पा बताउँछन्।

उच्च तापक्रममा पसिना धेरै बग्दा शरीरमा पानीको कमी हुनजान्छ, जसले हृदयाघातको जोखिम बढाउँछ। कठिनपूर्ण श्रम, तनाव, प्रतिकूल मौसम र खराब जीवनशैली पनि मुटुसम्बन्धी समस्या बढ्ने कारण भएको डा. शेर्पाको भनाइ छ।

“लामो समय श्रम गर्नुपर्ने बाध्यता हुन्छ। कामको प्रकृति गाह्रो हुन्छ र मौसम पनि अनकूल हुँदैन,” उनी भन्छन्, “कति श्रमिक धुम्रपान, मध्यपान सेवन गर्छन् र अस्वस्थ्य जीवनशैली अँगाल्छन्। यसको भार मुुटुमा पर्नजान्छ।”

लामो समय अनिन्द्रा हुने र तनावपूर्ण मनस्थितिबाट गुज्रिरहेका श्रमिकमा पनि मुटुसम्बन्धी समस्याको जोखिम हुन्छ। “कठोर श्रम र पारिवारिक बेमेलका खबरले पनि परदेशमा श्रमिकहरू तनावमा पर्छन्,” उनी भन्छन्, “यस्तो अवस्थामा पनि हृदयघात र कार्डियाक अरेस्टको जोखिम हुन्छ।”

कतिपय श्रमिक भने उच्च रक्तचाप जस्ता दीर्घकालीन र मुटुसम्बन्धी वंशाणुगत रोग भएका हुन्छन्। विदेशमा जीवनशैली र खानपान नमिल्दा उनीहरू पनि जोखिममा हुन्छन्।

स्वास्थ्य परीक्षणमा लापरबाही
वैदेशिक रोजागरीमा जानुपूर्व श्रमिकको अनिवार्य स्वास्थ्य परीक्षण हुनुपर्छ। सरकारले वैदेशिक रोजगारीमा जानुपूर्व गरिने स्वास्थ्य परीक्षणको जिम्मा निजी क्षेत्रलाई दिएको छ।

वैदेशिक रोजगारीमा जानुपूर्व गरिने स्वास्थ्य परीक्षणको जिम्मा पाएका कम्पनीले प्रभावकारी रूपमा काम नगरेको श्रमविज्ञ रामेश्वर नेपाल बताउँछन्। कतिपयले स्वास्थ्य परीक्षण नै नगरी फर्जी रिपोर्टसमेत बनाउने गरेको उनको भनाइ छ।

नेपालका अनुसार वैदेशिक रोजगारीमा जानुपूर्व गरिने स्वास्थ्य परीक्षणलाई प्रभावकारी बनाउनसके परदेशमा हुने श्रमिकको मृत्युदर कम गर्न सकिन्छ। “कतै स्वास्थ्य परीक्षण नै नगरी पनि स्वस्थ भएको मेडिकल रिपोर्ट श्रमिकलाई थमाइदिन्छन्,” उनी भन्छन्, “कतै चाहिँ राम्रोसँग परीक्षण नै गरिँदैन। त्यसको मूल्य श्रमिकले चुकाउनु परेको छ।”