हेवाखोलामा बेलीब्रिज जडान गर्न सरकारको ध्यानाकर्षण

सांसदले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलीब्रिज भाँचिएको ठाउँमा अर्को बेलीब्रिज जडान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

काठमाडौँ– सांसदले पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलीब्रिज भाँचिएको ठाउँमा अर्को बेलीब्रिज जडान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मिक समयमा नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले शनिबार पुलको केही भाग जडानका क्रममा भाँचिदा तीन जना मजदुरको ज्यान गएको जानकारी दिए। उनले त्यहाँ अर्को बेलीब्रिज जडान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्। 

हेवाखोलामा पुल नहुँदा पाँचथर, ताप्लेजुङ, तेह्रथुमलगायत जिल्लामा सहज रूपमा आउजाउ गर्न कठिन भएको उनले बताए। “अघिल्लो वर्ष बाढीले हेवाखोलाको निर्माणाधीन बेलीब्रिज भत्काएको थियो। सरकारले तीव्र गतिमा त्यसमा काम गरिरहँदा हिजो भाँचियो। पुल नहुँदा ताप्लेजुङमा निर्माणाधीन जलविद्युत् आयोजनाका निर्माण सामग्री, दैनिक उपभोग्य वस्तुको ढुवानी प्रभावित भएको छ,” उनले भने, “पर्यटक र बिरामीलाई समस्या भएको छ।”

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले इजरायल–इरान युद्धका कारण जोखिममा परेका नेपालीको उद्धारका लागि कूटनीतिक पहल गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। उनले इजरायलमा रहेका सात हजार नेपालीको सुरक्षाका लागि तत्काल कूटनीतिक प्रयास थाल्नुपर्नेमा जोड दिए।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरीले  सर्लाही क्षेत्र नं १ को निर्वाचन रणनीतिक सडकको लालबन्दीदेखि मलंगवा जोड्ने पुल अलपत्र भएकाले त्यसमा ध्यान दिन सरकार र सदनको ध्यानाकर्षण गराए। नेपाली कांग्रेसका सांसद नागिना यादवले सदन अवरोध हुँदा जनताका समस्या सदनमा राख्न समस्या भइरहेको बताइन्। 

नेकपा एमालेका ठाकुरप्रसाद गैरेले पाल्पाको रम्भा गाउँपालिका– ३ रिमिघा लेकमा भेटिएको वनस्पति यार्सागुम्बाबारे चर्चा गर्दै उच्च भेगमा पाइने जडीबुटीको खोज अनुसन्धान एवं प्रयोगबारे सरकारको ध्यानाकर्षण गराए। 

बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभामा उत्पत्ति भएको “पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरे।