‘हेरिटेज रिकभरी क्याम्पेन’ : मूर्ति चोरीमाथि बहस

सांस्कृतिक क्षतिबाट प्रभावित समुदाय र राष्ट्रका लागि न्याय, उपचार र मेलमिलापमा त्यस्ता सम्पदाको फिर्तीले कसरी योगदान पुर्‍याउँछ भन्नेबारे ‘हेरिटेज रिकभरी क्याम्पेन’मा विमर्श हुनेछ।

डकुमेन्ट्रीका पोस्टर

काठमाडाैँ– सन् १९७० को दशक, कम्बोडिया गृहयुद्धको चपेटामा फसिरहेको बेला। त्रास, भोकमरी, हाहाकार, गोलाबारीले अस्तव्यस्त जनजीवन। कम्बोडियाको यही अशान्त परिस्थिति देशबाहिर विशेषतः मूर्ति संकलनका पारखीका लागि ‘सुनौलो’ मौका बन्यो। अनि शुरू भयो मूर्ति चोरीको शृंखला।

रोचक त के भने, मूर्ति चोरी गर्न बाल सैनिक प्रयोग गरियो। तीमध्ये एक हुन्, ‘ब्लु टाइगर’। यो ती बाल सैनिकको ‘कोड नेम’ हो। ब्लु टाइगर भन्छन्, “गड्स वेर टेरिबल, एज वेयर ह्युमन्स मिजरेबल (मूर्ति चोरी रोक्न सकिँदैनथ्यो किनभने हामी नै निरीह थियौँ।)”

मूर्ति चोरीमा संलग्न उनीजस्ता बाल सैनिकलाई दिनको सय डलरमा काममा लगाइन्थ्यो। ती मूर्तिको चोरी र बिक्रीमा बेलायती नागरिक डग्लस ल्याचफर्ट संलग्न थिए। उनले ‘कला पारखी’को आवरणमा यो अवैध कारोबार चलाइरहेका थिए।

डन मिलारले आफ्नो डकुमेन्ट्री ‘लुटः अ स्टोरी अफ क्राइम एन्ड रिडेम्प्सन’मा ल्याचफर्टले कसरी मूर्ति किन्थे, उनको सञ्जाल कस्तो थियो र मूर्ति कसरी विभिन्न संग्रहालयमा पुग्थे भन्ने कुरा रोचक ढंगले प्रस्तुत गरेका छन्।

यो डकुमेन्ट्रीमा मूर्ति चोरीमा प्रयोग भएका ब्लु टाइगरदेखि मूर्ति संकलन र ‘मेट’ जस्ता ठूलो संग्रहालयमा आपूर्ति गर्ने मूर्ति संकलक तथा बिक्रेता ल्याचफर्टको कथा समेटिएको छ। डकुमेन्ट्री ‘अन्तर्राष्ट्रिय कन्सोटियम अफ इन्भेस्टिगेटिभ जर्नलिस्ट’का मालिया पोलिट्जरले गरेको खोज रिपोर्टिङमा आधारित छ।

निर्देशक मिलारका लागि ‘आर्ट एन्ड क्राइम’ विधा रूचिको क्षेत्र हो। डग्लसजस्ता ‘आर्ट डिलर’ पात्रले उनलाई आकर्षित गरे। अध्ययनका क्रममा बाल सैनिक जसरी मूर्ति चोरीका लागि प्रयोग भए र तिनै पात्र हाल मूर्ति फिर्ताका लागि सरकारलाई सहयोग गरिरहेको थाहा पाएपछि उनले फिल्मको शैलीलाई परिमार्जित गर्ने सोचे।

“मलाई ल्याचफर्डको कथा मन परिरहँदा कम्बोडियाका बाल सैनिकका कथाले मन छोयो। ती बालक बाध्य भए, आफैले आफ्नो देशको मूर्ति चोरेर अन्यलाई दिन, अपराध गर्न। अपराधी मानिएका तिनै हात आज ती मूर्ति फिर्ताका लागि तत्पर छन्,” उनी भन्छन्, “अपराध र प्रायश्चितको अनौठो सुन्दर कथा मैले देखेँ।”

परिस्थितिवश मूर्ति चोरी गरेर चोरको संज्ञा पाएका व्यक्ति दशकौँपछि मूर्ति फिर्तामा देखाएको सक्रियता, समाजमा उनीलाई लागेको चोरीको आरोप र आत्मआलोचनाले निर्देशक मिलारलाई आकर्षित गर्‍यो।

डन मिलार। तस्वीर : द डिप्लोम्याट

यो डकुमेन्ट्री देशको कलासंस्कृति हराउँदा अदृश्य रूपमा पहिचान र संस्कृतिमा पार्ने प्रभावको सटिक उदाहरण हो। मूर्ति चोरी भएका मन्दिर भग्नावशेषका रूपमा छोडिए र ती खण्डहरमा परिणत भए। त्यो नमिठो इतिहास बोकेका स्थानका दृश्यलाई चोरीको अनुभूतिसहित सिनेमेटोग्राफीमार्फत सुन्दर दृश्यमा देख्न पाउनु यस डकुमेन्ट्रीको अर्को सबल पक्ष हो।

फिफा फिल्म फेस्टिभल, बाली फिल्म फेस्टिभल कम्बोडिया, न्युजिल्यान्डमा प्रदर्शनी भइसकेको डकुमेन्ट्री नेपालमा भने गत आइतबार प्रदर्शनी गरिएको छ। 

डकुमेन्ट्री यस्ता विषयबारे सशक्त संवादका लागि बलियो माध्यम हुने मिलार बताउँछन्। डकुमेन्ट्रीले विश्वभरका मानिसलाई जानकारी र प्रेरणा मिलोस् भन्ने उनको अपेक्षा छ। साथै, उनी नेपालमा पनि यस्ता विषयमा फिल्म बन्नुपर्ने आवश्यकता देख्छन्।

फिल्ममार्फत पश्चिमी समाजलाई आफ्नो सोखका लागि अरूको आस्थामा लुट्न नहुने आशय आफूले दिन खोजेको उनी बताउँछन्। “पैसाले बजार सिर्जना गर्छ। सामान्यत: यस्ता कलाको बजार पश्चिमी मुलुक नै हुन्। यसो हुँदा यस फिल्ममार्फत यस्ता बजारको सिर्जना नगरौँ भन्ने मेरो अपिल हो,” निर्देशक मिलार भन्छन्।

‘मेरो भगवान‍्लाई देखेका छौ?’
मूर्ति चोरीबारे अर्को डकुमेन्ट्री हो, ‘ह्याभ यु सिन माइ गड्स?’। निर्देशक अभिताभ जोशीले यस डकुमेन्ट्रीमार्फत नेपाली मूर्ति चोरी पैठारी गरी विदेश पुर्‍याउनेलाई प्रश्न सोध्ने प्रयास गरेका छन्।नेपालमा जन्मिएर अमेरिकामा हुर्केका जोशी आफ्नै देशका मन्दिरमा पूजा आराधना गरेका देवीदेवताका मूर्तिहरू अमेरिकाका ठूला संग्रहालयहरूमा सिसाभित्र थुनिएको देख्दा उकुसमुकुस भए।

यो उकुसमुकुसले उनलाई ‘मेरो भगवान‍्लाई देखेका छौ?’ भनी पश्चिमी समाजलाई प्रश्न गर्न प्रेरित गर्‍यो। अभिताभले यो डकुमेन्ट्रीलाई आफू कक्षा ५ मा पढ्दा नेपालका चाडपर्व अमेरिकी मुलुकमा बुझाउने क्रममा गरेको एउटा प्रोजेक्टको बृहत् स्वरूप मान्छन्।

जोशीले तत्कालीन समय (सन् २०२१)मा फिर्ता भएको पाटन पट्को टोलस्थित लक्ष्मीनारायण मन्दिरको मूर्तिबारेमा ‘ह्याभ यु सिन माइ गड्स’मा प्रस्तुत गरेका छन्। लक्ष्मीनारायणसँग उनको हजुरआमाको स्मृति जोडिएको थियो, जसले फिल्मलाई अझ भावनात्मक बनाएको उनी बताउँछन्। बाल्यकालमा हजुरआमाले सुनाएको लक्ष्मीनारायणको किंवदन्ती, नेपालका पत्रपत्रिकामा मूर्ति फिर्ताका लागि भएका पहलदेखि अमेरिकी दूतावास हुँदै लक्ष्मीनारायणको आफ्नो उद्गमस्थलमै फिर्ताको प्रक्रिया यस फिल्ममा देखिन्छ। 

उनका अनुसार, एउटा विकासोन्मुख राष्ट्रले विश्वकै शक्तिशाली राष्ट्रबाट कानूनी प्रक्रियासहित मूर्ति फिर्ता ल्याई समुदायमा पुनर्स्थापना गर्नु अनुपम उदाहरण हो। मूर्ति फिर्ता भएका अन्य देशको तुलनामा नेपालमा जसरी समुदायमा पुनर्स्थापना भयो, त्यसले मूर्ति फिर्ताको सार्थकतालाई उनले आफ्नो फिल्ममार्फत दर्शाएका छन्। यसकारण पनि यो फिल्म एक नेपालीको पक्षबाट विदेशीलाई प्रश्न भएको उनको भनाइ छ।

विश्व इतिहासमा कहिल्यै पनि उपनिवेशमा नपरेको नेपालबाट कसरी मूर्ति चोरी हुन्थे, कस–कसको कस्तो संलग्नता हुने गर्थ्यो भन्नेबारे दर्शकले यस डकुमेन्ट्रीबाट जानकारी पाउँछन्। 

अमिताभ जोशी/उकालो

केन्द्रमा कला
जर्मन वुल्फग्याङ लकको ‘द स्टोलन वारियर’ नामक डकुमेन्ट्रीमा मूर्ति चोरीको विश्वबजारबारे क्रिमिनोलोजी तथा प्रोफेसर साइमन मेकेन्जी भन्छन्, “मूर्ति तस्करीको बजार ६ बिलियन अमेरिकी डलरसहित तेस्रो स्थानमा पर्छ। पहिलोमा लागुऔषध तस्करी छ भने दोस्रोमा हातहतियार।”

नजरअन्दाज गरिने कलाकृति र सामाजिक चालचलनको पाटो कति महत्त्वपूर्ण हुन्छन् भन्ने यसैबाट पनि प्रस्ट हुन्छ। बेवास्ता गरिएका यस्ता कलावस्तुको महत्त्व उजागर गर्न र यसबारे विचार विमर्श गर्न ‘इन्टरनेसनल कन्फरेन्स अन रिकभरी अफ कल्चरल हेरिटेज’ नामक अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि (असार २) आयोजना हुँदैछ। यसलाई नेपाल सरकार पुरातत्त्व विभागसँगको सहकार्यमा ‘नेपाल हेरिटेज रिकभरी क्याम्पेन’ले आयोजना गरेको हो।

ललितपुरस्थित साझा कम्प्लेक्समा ४ गेतसम्म चल्ने यस सम्मेलनमा चोरिएका सांस्कृतिक कलाकृति, अवैध ओसारपसार तथा स्वदेश फिर्तासम्बन्धी सवालमा छलफल हुने बताइएको छ। यसका साथै, सांस्कृतिक क्षतिबाट प्रभावित समुदाय र राष्ट्रका लागि न्याय, उपचार र मेलमिलापमा त्यस्ता सम्पदाको फिर्तीले कसरी योगदान पुर्‍याउँछ भन्ने विषयमा पनि अन्वेषण गरिने आयोजकको भनाइ छ।

सम्मेलनपूर्व स्क्रिनिङका रूपमा शनिबार जोशीको ‘ह्याभ यु सिन माइ गड्स’, जेकब स्वालाज र इभान कारपेन्टरको ‘आर्टिफ्याक्ट वार’ र आइतबार माटी डिओपको ‘डाहोमे’ र डन मिलारको ‘लुटः अ स्टोरी अफ क्राइम एन्ड रिडेम्पसन’ प्रदर्शन गरिएको थियो।

आयोजकका अनुसार सांस्कृतिक सम्पत्तिको सुरक्षा र उचित संरक्षकलाई पुनर्स्थापित गर्ने प्रयासलाई सुदृढ पार्न आवश्यक पर्ने कानूनी ढाँचा र नीतिगत सुधारदेखि कलाको ऐतिहासिक अनुसन्धान, खोजी पत्रकारिता, मिडिया संलग्नता र उदीयमान डिजिटल प्रविधिसम्मको विस्तृत रणनीतिमा पनि अध्ययन हुनेछ।

नेपाल हेरिटेज रिकभरी क्याम्पेनका अध्यक्ष कनकमणि दीक्षित यो सम्मेलन नेपालका मूर्ति चोरीको इतिहास र वर्तमान अवस्थालाई झल्काउनुका साथै तिनको सुरक्षा तथा स्वदेश फिर्तीका विषयमा छलफल गर्न पनि महत्त्वपूर्ण रहने बताउँछन्।

"नेपालमा चोरी पैठारी तथा अन्य तरिकाले विदेश पुगेका मूर्ति फिर्ताको क्रमले गति लिइरहेको समयमा संसारभर यसै सन्दर्भमा के–के भइरहेको बुझ्न अनि बुझाउनका लागि यो सम्मेलन आवश्यक छ," उनले भने, "यसमा विश्वभर नै मूर्ति तथा कलावस्तुमा उपलब्धिपूर्ण काम गरिरहेका विज्ञ, विद्वान, अनुसन्धानकर्ता, नीतिगत तहका कर्मचारीलगायतको उपस्थिति रहनेछ।"