पत्रकारको सुरक्षा सुनिश्चित गर्न सरकारलाई आयोगको आग्रह

मानव अधिकार आयोगले समाचारका विषयलाई लिएर पत्रकारलाई लक्षित गरी भइरहेका धम्की, दुर्व्यवहार र घृणायुक्त अभिव्यक्तिका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले हालैका दिनमा पत्रकारलाई लक्षित गरी भइरहेका धम्की, दुर्व्यवहार र घृणायुक्त अभिव्यक्तिका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

आइतबार एक विज्ञप्ति जारी गर्दै आयोगले समाचारका विषयलाई लिएर पत्रकारमाथि सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट भइरहेका यस्ता गतिविधिले पत्रकारको मानव अधिकारको गम्भीर उल्लंघन भएको बताएको हो।

आयोगले यस्ता घटनाको अनुगमन गरिरहेको, विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा पत्रकारलाई धम्की दिने, पक्राउ पुर्जी जारी गर्ने लगायतका घटनाबारे आयोगमा समेत जानकारी प्राप्त भएको जनाएको छ।

नेपालको संविधानको धारा १७ ले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता र नेपाल पक्ष राष्ट्र रहेको नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा १९ ले प्रदान गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको रक्षा गर्नु राज्यको दायित्व भएको आयोगले स्मरण गराएको छ।

आयोगले पत्रकारलाई धम्की दिने, त्रसित बनाउने र प्रेस स्वतन्त्रतामाथि असर पुग्ने कुनै पनि काम नगर्न र पत्रकारको सुरक्षाको प्रत्याभूति गर्न सरकारलाई आग्रह गरेको छ।

“राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनप्रदत्त सूचना तथा सञ्चारको हकको संरक्षण गर्दै पत्रकार तथा सञ्चारगृहमाथिको धम्की, दुर्व्यवहारजस्ता कार्य बन्द गर्न, यस्ता घटना दोहोरिन नदिने व्यवस्थाको सिर्जना गर्न, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्णरूपमा रक्षा गर्न र पत्रकारको सुरक्षामा संवेदनशील हुन आयोग नेपालले सरकारको ध्यानाकर्षण गराउँछ,” आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

‍साथै, पत्रकारिताको आचारसंहिताको पालना गर्दै सत्यतथ्य र विश्वसनीय समाचार मात्र सम्प्रेषण गर्न र व्यक्तिको गोपनीयता तथा मर्यादाको सम्मान गर्न पत्रकार तथा सञ्चारगृहलाई पनि आयोगले आग्रह गरेको छ।