इरान र इजरायलबीचको बढ्दो तनावले त्यहाँ कार्यरत नेपाली श्रमिकहरूको सुरक्षामाथि गम्भीर चिन्ता बढाएको छ। तर युद्धको जोखिम भएका यस्ता देशहरूमा नजान नेपाली श्रमिक र सरकार दुवै गम्भीर देखिएका छैनन्।
काठमाडौँ– नेपालीको श्रम गन्तव्य मध्यपूर्वको अवस्था अहिले तनावग्रस्त छ। गत शुक्रबारदेखि इजरायल र इरान युद्धमा होमिएका छन्। यी दुई देश एकअर्काविरुद्ध हवाई आक्रमण गरिरहेका छन्।
प्रमुख शहर र ऊर्जा–सैन्य पूर्वाधारलक्षित निरन्तरका आक्रमणबाट अहिलेसम्म इजरायलमा १३ जना र इरानमा रिभोलुसनरी गार्डका प्रमुखसहित १२० भन्दा धेरैले ज्यान गुमाएका छन्। यस्तो अवस्थामा ती देशमा कार्यरत नेपालीको सुरक्षाको विषयलाई लिएर चासो र चिन्ता बढेको छ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी सांसद देवेन्द्र पौडेलले ती देशमा रहेका नेपालीको सुरक्षाका लागि पहल गर्न सरकारसँग आग्रह गरे। करिब सात हजार नेपाली इजरायलमा र केही नेपाली इरानमा पनि रहेको भन्दै उद्धारका लागि छिटो पहल गर्न पौडेलले सरकारको ध्यानाकर्षण गराए।
“इजरायल र इरानबीच भीषण लडाइँ भइरहेको छ। सात हजारभन्दा बढी नेपाली इजरायलमा छन्। केही संख्यामा इरानमा पनि नेपाली रहेका छन्। उहाँहरूको सुरक्षाका निम्ति नेपाल सरकारले के पहल गरिरहेको छ? उहाँहरूको सुरक्षाका लागि कूटनीतिक वृत्तबाट तदारुकतासाथ पहल होस्,” उनले भने।
शुक्रबार राति इरानले आक्रमण गरेका सयौँ ड्रोन तथा मिसाइललाई इजरायली हवाई रक्षाप्रणालीले नष्ट गरेको थियो। तर शनिबार भने केही मिसाइल तथा ड्रोनलाई नष्ट गर्न रक्षाप्रणाली चुक्दा प्रमुख इजरायली शहरमा विस्फोट भएको छ। एनआरएनए–एनसीसी इजरायलका अध्यक्ष श्रीकृष्ण भण्डारी ड्रोन आक्रमण भएका तेलअभिभ शहरलगायतका क्षेत्रमा नेपालीको संख्या धेरै भएको बताउँछन्।
“इरानका ड्रोन इजरायलभित्रै घुसेर यहाँको तेलअभिभ, सिटी सेन्टर गरी पाँच वटा क्षेत्रमा आक्रमण भएको छ,” उनी भन्छन्, “तेलअभिभसहित रिसोन जियोनलगायत नेपाली धेरै भएको क्षेत्रमै आक्रमण भएको हो।”
उनका अनुसार अहिलेसम्म नेपाली सकुशल छन्। नयाँ आउनेहरूमा केही त्रास देखिए पनि पुराना भइसकेकाहरू सुरक्षा प्रणालीप्रति जानकार रहेकाले ढुक्क भएका उनको भनाइ छ।
“नयाँ आउनुभएकाहरूलाई एकाएक यस्तो आक्रमण भएको देख्दा मानसिक रूपमा गाह्रो हुनसक्छ, नत्र पुरानाहरूको हकमा उहाँहरू यहाँको सुरक्षा प्रणालीप्रति ढुक्क हुनुहुन्छ, आत्तिनुपर्ने छैन,” उनले भने।
इरानी ड्रोनले त्यहाँका प्रमुख शहरमै पुगेर आक्रमण गरेपछि इजरायलमा सुरक्षा सतर्कता बढाइएको छ। त्यहाँको सुरक्षा जोखिमलाई मध्यनजर गर्दै ‘इजरायली होम फ्रन्ट कमान्ड’ले सर्वसाधारणका लागि लगातार अद्यावधिक निर्देशन जारी गरिरहेको छ। साथै, शैक्षिक संघसंस्था एवं अत्यावश्यकबाहेकका कार्यालय बन्द गर्न र सभा/भेला नगर्नसमेत निर्देशन गरिएको छ।
यहीबीच आइतबार तेलअभिभस्थित नेपाली दूतावासले सूचना जारी गर्दै त्यहाँ रहेका सबै नेपालीलाई सुरक्षितसाथ रहन आग्रह गरेको छ। यस युद्धका दौरान इजरायलका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुगेकाले नेपालीलाई सतर्कता अपनाउन दूतावासले आग्रह गरेको हो।

“इजरायलमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई स्थानीय सुरक्षा प्रोटोकलको पालना गर्न, आफ्नो क्षेत्रका लागि जारी गरिएका अद्यावधिक सूचनाबारे जानकार रहन र आफ्नो सुरक्षातर्फ विशेष ध्यान दिन, अत्यावश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन तथा सुरक्षित आश्रयस्थलको सुविधा भएको स्थलको आसपासमै रहनसमेत हार्दिक अनुरोध गर्दछौँ,” दूतावासको सूचनामा उल्लेख छ।
यता, परराष्ट्र मन्त्रालयले पनि दुवै देशमा रहेका नेपालीलाई आफू बसेको ठाउँमा सुरक्षित रहन र ‘लोकल एड्भाइजरी’को अनुसरण गर्न शुक्रबार नै सूचित गरेको थियो। साथै, मन्त्रालयले दुई देशबीचको युद्धलाई तत्काल रोक्नका लागि पनि आग्रह गरेको थियो।
कतारको दोहास्थित नेपाली दूतावासले इरानलाई पनि हेर्छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले तेलअभिभ र दोहास्थित नेपाली राजदूतहरूसँग सम्पर्क गरेर त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन्।
मन्त्रालयका अनुसार हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ जना नेपाली रहेका छन्। उनीहरू सबै जना हालसम्म सुरक्षित रहेको जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ।
आइतबार फेरि मन्त्रालयले सूचना जारी गर्दै दुई देशबीच विकसित घटनाक्रमलाई सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने जनाएको छ।
द्वन्द्व बढ्दै जाँदा यदि उद्धार गर्नुपर्ने अवस्था आए के कस्तो तयारी छ भन्ने उकालोको प्रश्नमा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले भने, “आवश्यक परेका बेला आफ्ना नागरिकलाई उद्धार गर्नेछौँ।”
अहिलेसम्म के भयो?
इजरायल र इरानबीच लगातार तेस्रो दिन आइतबार पनि एक अर्कामाथि आक्रमणको क्रम जारी छ। शुक्रबारदेखि इजरायलले इरानी आणविक र सैन्य पूर्वाधारलक्षित आक्रमण थालेपछि इरानले पनि प्रत्याक्रमण शुरू गरेको थियो।
इजरायली आपतकालीन सेवाका अनुसार इरानले शनिबार रातिदेखि आइतबारसम्म इजरायलमा घातक क्षेप्यास्त्र प्रहार गरेको थियो, जसमा बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ भने करिब २०० जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। इरानी मिडियाले स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै शनिबार दिउँसोसम्म इजरायली आक्रमणमा १२८ इरानी मारिएको र लगभग ९०० घाइते भएको बताएको छ।
इरानी सैन्य र आणविक सुविधालाई लक्षित गरेर शीर्ष अधिकारी र वैज्ञानिकको हत्या गरेपछि इजरायलले हवाई प्रतिरक्षा र तेल पूर्वाधार लक्षित आक्रमण विस्तार गरेको छ। यी दुईबीचको युद्धमा यमनका हुथी विद्रोही इरानको पक्षमा इजरायलमाथि आक्रमण गरिरहेका छन्। हुथीले आइतबार इजरायलमाथि धेरै मिसाइल प्रहार गरेको जनाएको छ।
इरानी समाचार एजेन्सी तस्निमले आइतबार बिहान इजरायली आक्रमणले तेहरानमा रहेको देशको रक्षा मन्त्रालयको मुख्यालयलाई पनि लक्षित गरेको र यसको एउटा भवनलाई क्षति पुर्याएको बताएको छ। रक्षा मन्त्रालयले यसबारे टिप्पणी गरेको छैन।
पहिलो प्रत्यक्ष हमलास्वरूप २०२४ अप्रिलमा इरानले इजरायलमा ३०० भन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको थियो। प्रतिकारमा इजरायलले इरानी हवाई तथा सैन्य अड्डामा हमला गरेको थियो। शुक्रबारको दोस्रो प्रत्यक्ष हमला हो।
इजरायलले आफ्नो अस्तित्वका लागि इरानलाई खतराको रूपमा हेर्ने गरेको छ। इरानले हमास र हिजबुल्लाहलाई आर्थिक सहयोग उपलब्ध गराउनुका साथै गोप्य रूपमा परमाणु हतियार बनाइरहेको आरोप पनि इजरायलले लगाउने गरेको छ। त्यसैले पछिल्ला आक्रमणमा इजरायलले इरानका आणविक हतियारस्थललाई निशाना बनाइरहेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले आइतबार इजरायलले इरानका आणविकस्थललाई लक्षित गरेर ‘नयाँ रेखा पार गरेको’ बताएका छन्। “यो पूर्ण रूपमा स्पष्ट छ कि इजरायली शासनले आणविक मुद्दामा कुनै सम्झौता चाहँदैन। वार्ता चाहँदैन र कूटनीति खोज्दैन,” अराघचीले विदेशी कूटनीतिज्ञहरूसँगको कुराकानीमा भने।
उनले शुक्रबार गरिएको आक्रमण ‘कूटनीतिलाई कमजोर पार्ने र वार्तालाई लिकबाट हटाउने प्रयास’ भएको टिप्पणी गरे।
इजरायली आक्रमणपूर्व दुवै पक्षले आइतबार ओमानमा छैटौँ चरणको वार्ता गर्ने तयारी गरेका थिए। इरानका राष्ट्रपति मसुद पेजेस्कियनले शनिबार जबसम्म इजरायलले इरानमा आक्रमण जारी राख्छ तबसम्म तेहरानले अमेरिकासँग आणविक वार्तामा भाग नलिने बताएका थिए।
पश्चिमा सरकारले बारम्बार इरानलाई मनमर्जी रूपमा आणविक हतियार निर्माण गरेको आरोप लगाउँदै आएका छन्। उक्त आरोपलाई इरानले अस्वीकार गर्दै आएको छ।
यता, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै देशलाई ‘तनाव रोक्न र शान्तिको बाटो अपनाउन’ अपिल गरेका छन्।
उनले शनिबार सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “इरानको आणविकस्थलमा इजरायलको आक्रमण, बदलामा इरानले तेलअभिभमा मिसाइल प्रहार गरेको छ। अब धेरै भयो। यसलाई रोक्ने समय आएको छ। शान्ति र कूटनीतिको बाटो अपनाउनुपर्छ।”
अन्य राष्ट्रहरूले पनि संयम अपनाउन र ठूलो द्वन्द्वमा नजान चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन शनिबारको फोनवार्तामा इरान र इजरायलबीचको द्वन्द्व ‘अन्त्य हुनुपर्छ’ भन्ने कुरामा सहमत भएको बताएका छन्।
आइतबार बिहान ट्रम्पले इरानलाई तेहरानको आणविक र गुप्तचर सुविधामा इजरायलको आक्रमणसँग वासिङ्टनको ‘कुनै सम्बन्ध छैन’ भनेर दोहोर्याए। उनले यदि इरानले संयुक्त राज्य अमेरिकामा आक्रमण गरेमा उसले अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ अनुभव गर्ने चेतावनीसमेत दिए।
द्वन्द्व चर्किँदा पनि नेपाली गइरहे
आकर्षक तलबको आसमा नेपाली वैदेशिक रोजगारीका लागि युद्धग्रस्त देशमै पुग्ने गरेका छन्। यस क्रमलाई न सरकारले रोक्न सकेको छ, न उनीहरू आफै सचेत भएर त्यहाँ जान बन्द गरेका छन्। युक्रेनसँगको युद्धमा रुसी सेनामा भर्ती भएका ७० भन्दा धेरै नेपालीले ज्यान गुमाइसकेका छन्।
प्यालेस्टिनी सशस्त्र समूह हमासको आक्रमणमा परेर इजरायलमा १० जना नेपाली कृषिका विद्यार्थीले ज्यान गुमाएको दुई वर्ष बितेको छैन। २०२३ अक्टोबर ७ को उक्त आक्रमणदेखि सम्पर्कविहीन रहेका विपिन जोशीको अवस्था अहिलेसम्म अस्पष्ट छ।
हमास–इजरायल द्वन्द्वपछि पनि लेबनानको हिजबुल्लाह र यमनका हुथीसँग इजरायली सेनाको संघर्ष चलि नै रह्यो। यसअघि पनि इरानले बेलाबखत इजरायलमाथि हमला गरिरहन्थ्यो। हमास र हिजबुल्लाह जस्ता इरानका प्रोक्सी फोर्सहरू कमजोर भए पनि, इराकमा यसका समर्थक मिलिसिया सशस्त्र र एकताबद्ध छन्। उनीहरूले इजरायल र उसको सहयोगी अमेरिकालाई कठिन चुनौती दिइरहेका छन्।
यसरी नजिकै शत्रुराष्ट्रको हस्तक्षेप भइरहने र जतिबेला पनि युद्ध हुन्छ भनेर सहजै अनुमान गर्न सकिने राष्ट्रमा श्रमिक पठाउनुहुँदैन भनेर मानवअधिकारकर्मी तथा नागरिक समाजले विरोध जनाए पनि सरकार गम्भीर भएन। इजरायलको केयर गिभर क्षेत्रका लागि नेपाली श्रमिकलाई सरकारी तवरबाटै (जीटुजी) पठाउने गरिन्छ।
अक्टोबर ७ (२०८० असोज २०)को घटनापछि केही समय त्यहाँ श्रमिक पठाउन रोकेको नेपाल सरकारले मध्यपूर्वमा भइरहने द्वन्द्वलाई नजरअन्दाज गर्दै ६ महिनापछि, २०८१ वैशाखदेखि नै इजरायलमा श्रमिक पठाउन थाल्यो। त्यो वैशाखमा ७५ जना र जेठमा २१६ जना गएका थिए।
आर्थिक वर्ष २०८१/८२ मा ३३३ जना पहिलोपटक श्रम स्वीकृति लिएका गरी जम्मा १००१ नेपाली केयर गिभरमा इजरायल पुगे। यस्तै, चालु आर्थिक वर्षको अहिलेसम्म पहिलोपटक श्रम स्वीकृति लिएका ५५३ श्रमिक इजरायल गइसकेको वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्रबहादुर सिवाकोटीले बताए। तर अहिले बढेको द्वन्द्वपछि भने इजरायलमा श्रमिक पठाउन रोकिएको उनको भनाइ छ।
“इजरायल र इरानबीच अहिले युद्ध हुन थालेपछि हामीले त्यहाँ श्रमिक पठाउन रोकेका छौँ, परराष्ट्र मन्त्रालयले पनि अवस्था साम्य नभएसम्म अहिलेलाई रोक्नु भनेको छ,” उनले भने,
इजरायलको सुरक्षाप्रणाली विश्वसनीय भएकाले, युद्ध साम्य भएपछिको अवस्थामा पनि श्रमिक पठाउनै नहुने भनेर भन्नु उचित नहुने उनको भनाइ छ। “हामीले नपठाए अवैधानिक बाटो भएर पनि जान्छन्, गइरहेका छन् नि!,” उनले भने, “त्यहाँको दूतावासले सुरक्षित छ पठाउँदा हुन्छ भनेपछि हामीले पठाउने हो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
